थाहामा नवोदयको शैक्षिक अन्तरक्रिया
हेटौंडा । थाहा नगरपालिकाको आयोजना तथा नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयको सहकार्यमा थाहा नगरपालिकामा एकदिने शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षक महासङ्घ थाहा नगरपालिका समिति अध्यक्ष तगा नगर शिक्षा पदेन सदस्य राजाराम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका मेयर लवशेर विष्टको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नवोदय शिशु सदन विद्यालयका शैक्षिक संयोजक अव्यक्त खनालले विद्यालयको संरचना तथा भावी योजनाको बारेमा प्रकाश पारेका थिए । ‘कक्षाकोठामा मात्र शिक्षालाई सीमित राख्नु हुँदैन ।’ उनले भने –‘विषय केन्द्रित रहेर शिक्षकलाई तालिमको आवश्यकता पर्दछ । पुस्तकालय विनाको विद्यालय पानी बिनाको खोला सरह हुने भएकाले हरेक विद्यालयमा पुस्तकालयको अनिवार्य आवश्यकता पर्दछ । रचनात्मक क्रियाकलाप गराउनको निम्ति विद्यालयमा विभिन्न क्लवहरु गठन गर्नुपर्दछ । योजना बनाएर मात्र अध्यापन गराउनको निम्ति कक्षाकोठामा प्रवेश गर्नुपर्छ ।’ कुनै विद्यालयले सहकार्य गर्न चाहेमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा विज्ञान विषय कसरी पढाइ हुन्छ भन्ने विषयमा नवोदय विद्यालयका विज्ञान संयोजक अरुण दहाल, प्राथमिक तहमा ग्रेड शिक्षण आवश्यक पर्दछ भन्ने विषयमा शिक्षिका जमुना थापा र सोहिता भट्टराई, नेपाली भाषा र साहित्यको कसरी जगेर्ना गर्ने, कक्षाकोठामा विधागत रूपमा कसरी शिक्षण गराउने भन्ने कुरामा नेपाली विषयका सुपरिवेक्षक सिएम रिमाल, अङ्ग्रेजी विषयको प्रयोग किन र कसरी गर्ने भनेर अङ्ग्रेजी विषयका सुपरिवेक्षक मनोज लामा र सामाजिक विषयका सुपरिवेक्षक गौतम पोखरेलले सामाजिक विषयको बारेमा सहजीकरण गरेका थिए ।
थाहा नगरपालिकामा रहेका संस्थागत तथा सामूदायिक विद्यालयमा अध्यापन गराउने विषयगत शिक्षक, शिक्षिका, विभिन्न विद्यालयका प्रिन्सिपल तथा व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । नवोदय विद्यालयले गरेको सहजीकरण कार्यक्रममा करिव ५० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज सुवेदीले निजी विद्यालयले गर्न खोजेका कार्यहरू अनुकरणीय छ, यथासम्भव परिवर्तन सुरुमा आफैँमा हुनुपर्ने अनि मात्र विद्यालयमा हुने सिकाइमा परिवर्तन गर्न कुनै अप्ठ्यारो नहुने कुरामा हामी विश्वस्त हुनुपर्छ भनी भन्नु भएको थियो ि अन्तरक्रिया कार्यक्रममा थाहा नगरपालिका शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी, नगर शिक्षा समिति सदस्य तथा जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानुभाई कार्कीलगायले मन्तव्य राखेका थिए ।

बाइलाइन नेपाल











