आईसीसी क्रिकेट: ओमानसामु निरीह बन्यो नेपाल

बाइलाइन नेपाल
३० भाद्र २०७८, बुधबार ०७:३१

आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ को त्रिकोणात्मक शृङ्खला अन्तरगतको दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको छ । ओपनर जतिन्दर सिंहले शतकीय पारी खेलेपछि नेपाल हार व्यहोर्न बाध्य भएको हो । नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको लक्ष्य ओमानले मात्र ३१.१ ओभरमा पछ्यायो ।

प्लेयर अफ द म्याच घोषित सिंहले विष्फोटक ब्याटिङ गर्दै १२ चौका र ६ छक्का हिर्काउँदै १०७ रन बनाए । मोहम्मद नदिमले ३८ र सुरज कुमारले २० रन बनाए । नेपालका लागि करण केसी र कुशल मल्लले २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रन बनाए । ११२ बलमा उनले ७ चौका र १ छक्का हिर्काए । त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा रोहित पौडेलले २० रनको योगदान दिए । तर, नेपालको मध्य क्रम टिक्न नसक्दा नेपाल ठूलो योगफल बनाउनबाट चुक्यो ।

खेलको अन्त्यतिर करण केसीले २१ तथा सन्दीप लामिछानेले १६ रन बनाउँदै बनाउँदै नेपालको स्कोर सम्मानजनक बनाए । ओमानका लागि विलाल खानले ४ तथा नेस्टर धाम्बाले २ विकेट लिए । पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*