कसरी जोगाउने संक्रमणबाट बालबालिकालाई ?
कोरोना संक्रमणको बेला घरभित्रै सीमित ८ वर्षीय सुशान्त सुवेदीको स्कुल फेरिएको छ। संक्रमणअघि काठमाडौंको निजी स्कुलमा पढ्थे। अहिले धादिङ, गंगाजमुनास्थित सरकारी स्कुलमा पढ्छन्।
कक्षा ३ मा अध्ययनरत छोरालाई स्कुल पठाउँदा अभिभावकको मुहारमा चिन्ता छाउँछ। बुवा नेत्रबहादुर भन्छन्, ‘स्कुल नपठाउँदा पढाइ झन् बिग्रन्छ। पठाउँदा पनि संक्रमण हुन्छ कि भन्ने डर छ।’ स्कुलमा साथीहरू खाजा बाँडेर खाने हुन् कि, भौतिक दूरी कायम नगर्ने हुन् कि भन्ने भय रहिरहने उनले सुनाए।
स्थानीय तहले विद्यालय भवन एवं परिसर निर्मलीकरण गरेर विद्यालय सञ्चालन गर्न सक्ने निर्णय शिक्षा मन्त्रालयले गरेको छ। विद्यालयसम्बन्धी कार्यढाँचा, २०७७ अनुसार, स्थानीय तह र विद्यालयले बालबालिकाको सुरक्षाका लागि न्यूनतम पूर्वाधार (फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवत–जावत गर्न सक्ने कोठा आदि) को व्यवस्था गर्नुपर्छ। त्यस्तै स्वास्थ्य र सरसफाइका लागि साबुन, पानी, स्यानिटाइजर तथा विद्यालय आउनेहरूका लागि तापक्रम लिने व्यवस्था गर्नुपर्छ।
डिजिटल संसारमा सक्रिय रहेका बालबालिका झोला बोकेर स्कुल जान थालेका छन्। तर, केन्द्र र स्थानीय सरकारको फरक–फरक नीति र निर्णयले स्कुल खुलेपछि अभिभावकहरू ढुक्क हुन सकेका छैनन्। नेपालमा कोरोनाबाट ५४ हजारभन्दा बढी बालबालिका संक्रमित भइसकेका छन्।
नेपाल बाल चिकित्सक समाज अध्यक्ष डा. गणेशकुमार राईका अनुसार शिशुभन्दा स्कुल जाने उमेरका बालबालिका संक्रमणको जोखिममा छन्। अभिभावकबाट बालबालिकामा सर्ने जोखिम रहेकोमा अब साथीहरू र शिक्षकबाट पनि कोरोना संक्रमण हुन सक्ने डा. राई बताउँछन्।
मुलुकमा पहिलो लहरमा १९ वर्षमुनिका २० हजार ८ सय ६४ जनामा कोरोना भयो। जसमध्ये १०–१९ वर्षका १७ हजार ७ सय ५८ छन्।
त्यस्तै ५–९ वर्षको उमेर समूहका ३ हजार ७ सय २३ जन्मेदेखि चार वर्ष उमेर समूहका २ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। संक्रमणबाट पहिलो लहरमा ३८ जना बालबालिकाको ज्यान गएको थियो।
के छ चुनौती ?
जनस्वास्थ्यको मापदण्ड पालना गराउने पहिलो चुनौती छ। त्यस्तै उपचारका आवश्यक जनशक्ति न्यून रहेको र त्यो पनि सहरकेन्द्रित रहेकाले व्यवस्थापनमा चुनौती देखिएको छ। मुलुकमा एक मात्र केन्द्रीय बाल अस्पताल छ।
बाल चिकित्सक समाजका अध्यक्ष डा. राईकाअनुसार बालबालिकाको लागि शय्या र उपकरणको व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको छ। भेन्टिलेटर पनि छुट्टै चाहिन्छ। जनशक्तिको पनि अवस्था न्यून छ। ‘भेन्टिलेटर दाताले सहयोग गर्ला। बेड पनि बनाउला। चिकित्सक र नर्सको व्यवस्थापन कसरी गर्ने ?’ उनले प्रश्न गरे।
एमबीबीएस उत्तीर्ण चिकित्सक, स्टाफ नर्स र स्वास्थ्य सहायकहरू अस्थायी रूपमा नियुक्त गर्नुपर्ने डा. राईको सुझाव छ। विश्व स्वास्थ्य संगठन, दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवद्र्धन गर्ने विद्यालय बनाउने संकल्प गरेका छन्। नेपालले आयोजना गरेको कार्यकारी समितिको वार्षिक बैठकमा सदस्य राष्ट्रहरूले महामारीको दौरान पनि सुरक्षित तरिकाले विद्यालयहरू सञ्चालन गर्नुपर्ने आवश्यकताका बारेमा पनि विचार विमर्श गरेका थिए। अन्नपूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेका छन् ।

बाइलाइन नेपाल











