मकवानपुरमा ५४७ जना कोरोनाका सक्रिय संक्रमित
हेटौंडा । मकवानपुर देशभरका ५ सय भन्दा धेरै सक्रिय संक्रमित भएको जिल्लामा पर्दछ । मकवानपुरमा हाल कोरोना भाइरसबाट संक्रमितको संख्या ५ सय ४७ जना रहेका छन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा कायम राखेको अवस्थामा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा कमी आउन नसकेको हो । कुल सक्रिय संक्रमितमध्ये ४७७ जना होम आइसोलेशनमा छन् भने अन्य संक्रमितहरु संस्थागत आइसोलेशन र हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत छन् ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ४५ जना संक्रमितहरु स्थानीय तहहरुले संचालन गरेको संस्थागत आइसोलेशनमा बसेका छन् । हेटौंडा उपमहानगरपालिकाले संचालन गरेको गौरिटार आइसोलेशनमा हाल २५ जना कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार, थाहा नगरपालिकाको आइसोलेशनमा ७ जना, भीमफेदी गाउँपालिकाको आइसोलेशनमा ४ जना, कैलाश गाउँपालिकाको आइसोलेशनमा ३ जना, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बागमती गाउँपालिकाको आइसोलेशनमा २÷२ जना संक्रमित छन् ।
हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा हाल २५ जना संक्रमित उपचाररत छन् । हालसम्म मकवानपुरका १२ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी घिमिरेले बताए ।
उनका अनुसार, पछिल्लो २४ घण्टामा मात्रै मकवानपुरका ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर विधिबाट ४३४ जनाको कारोना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो ।