माधव नेपालको सुरक्षा गर्न ‘अखिल फोर्स’ गठन

बाइलाइन नेपाल
३१ असार २०७८, बिहीबार १८:४०

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले ‘अखिल फोर्स’ गठनको घोषणा गरेको छ । बिहीवार अनेरास्ववियू केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो ।

नेता तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए । उनले वरिष्ठ नेता नेपाल लगायतका आफ्ना नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहारहरू प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको बताए ।

उनले सामाजिक सञ्जालमार्फत् आफ्ना नेताहरूलाई गाली गरिरहेको भन्दै उनीहरूलाई भौतिक रूपमा पहिचान गरेर कारबाही गरिने दाबी पनि गरे ।

उनले भने, ‘आज केपी ओलीले बालकोटमा बसेर माधव नेपालहरूप्रति वक्रदृष्टि लगाइरहनुभएको छ । केपी ओलीको वक्र दृष्टिकोण न्यायालयप्रति पनि ठडिएको थियो तर न्यायालयले केपी ओलीको वक्र दृष्टिकोणको औंलालाई काटिदिएको छ । अब माधव नेपालहरूप्रति ठड्याएका वक्र दृष्टिकोणहरू समाप्त पार्ने हो । यसका लागि अनेरास्ववियू लाग्छ । आज हामी अखिल फोर्स बनाउँदैछौं, यदाकदा साइबर स्यालहरू हाम्रा नेताप्रति विभिन्न ढंगले हाम्रो नेताहरूलाई सामाजिक सञ्जालमा तथानाम गाली गरिरहेका छन् । यो अखिल फोर्सले एउटा काम गर्नेछ, ती साइबर स्यालहरूलाई भौतिक रूपमा पहिचान गरेर कारबाही गर्नेछ र यसको नेतृत्व अनेरास्ववियूले गर्नेछ । अखिल फोर्सले गर्नेछ ।’

अध्यक्ष पराजुलीले ओली पक्षीय युवा विद्यार्थीले माधव नेपालको घर घेर्ने समाचारहरू बाहिर आएको भन्दै माधव नेपालको घरतर्फ कसैले आँखा लगाए वा खुट्टा लम्काए आफूहरू भौतिक कारबाहीमा उत्रिने चेतावनी समेत दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*