बकैयामा सुजन, सुमिना र वसन्तको कविता उत्कृष्ट
हेटौंडा । झरना साहित्यिक परिवार मकवानपुरले २६७ औँ साहित्य शृङ्खलाको क्रममा आज ‘बकैया गाउँपालिका विशेष विद्यालयस्तरीय कविता प्रतियोगिता’ भर्चुअल माध्यमबाट भएको छ ।
प्रतियोगितामा सहभागी ११ विद्यालयका विद्यार्थीमध्ये बकैया–३ बुद्ध मावि हात्तिसुँडेका सुजन दाहाल सोही बिद्यालयका सुमिना दाहाल र महेन्द्र मावि, छतिवनका वसन्त गौतम उत्कृष्ट घोषित भएका छन् । उत्कृष्ट कविहरूलाई भौतिक रूपमा अनुकूल समयमा पुरस्कृत गरिने परिचालन समितिका संयोजक एवम् झसापका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले बताए ।
बकैया गाउँपालिकालाई मूल थलो बनाई क्रियाशील झसापले सिर्जनशील नयाँ पुस्ता निर्माण अभियानअन्तर्गत मकवानपुर जिल्लाभरका विभिन्न ६० विद्यालय तथा कलेजहरूमा पुगी काव्य प्रशिक्षण सम्पन्न गरिसकेको छ । गत वैशाखदेखि बकैया गाउँपालिकाअन्तर्गतका मावि र आविमा गठित बालसाहित्य समितिलाई सक्रिय राख्ने उद्देश्यले ‘बकैया फलोअप’ कार्यक्रमअन्तर्गत गत वैशाख महिनादेखि बालसाहित्य समितिका विद्यार्थीहरूका बिच प्रतियोगितात्मक कार्यक्रमको थालनी गरिएको अध्यक्ष दीपक गौतमले बताए ।
साथै, बालसाहित्य समितिका विद्यार्थीलाई विधागत सचेततासहित साहित्यमा कलम चलाउन सक्षम बनाउने उद्देश्यले भर्चुअल माध्यमबाट आगामी साउन पहिलो हप्तादेखि हरेक शनिबार दुई घन्टे विधागत साहित्यिक प्रशिक्षणसमेत दिइने गौतमले जानकारी दिए ।
साथै, झसापले यसै वर्षदेखि मासिक रूपमा साहित्यिक कार्यक्रम गर्ने, भित्तेपत्रिका प्रकाशन गर्ने, विद्यार्थीका साहित्यिक रचनालाई विभिन्न सञ्चारमाध्यममा प्रकाशन गरी विद्यार्थीको सिर्जनशीलता विकास गराउने एकएक मावि तथा आविलाई ुउत्कृष्ट सिर्जनशील विद्यालयु को रूपमा सम्मानित गर्ने योजना बनाएकोसमेत जानकारी झरना–बकैया बालसाहित्य परिचालन समितिका संयोजक लामिछानेले जानकारी दिए ।
झसापका अध्यक्ष दीपक गौतमको अध्यक्षता एवम् जनार्दन खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झसापका सल्लाहकार रमेशमोहन अधिकारी र झसाप उपाध्यक्ष तथा बालसाहित्य परिचालन समितिका संयोजक लामिछानेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

बाइलाइन नेपाल











