हेटौँडामा दुई सय किलो गाँजासहित तीन जना पक्राउ

बाइलाइन नेपाल
३० असार २०७८, बुधबार १६:५२

मकवानपुरमा एकैदिन ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित दुई भारतीय नागरिक र एक नेपालीलाई पक्राउ गरेको छ ।

२ सय ९ किलो लागूऔषध गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा गाँजा भारत पुर्‍याउन खोज्ने दुई भारतीय नागरिक र नुवाकोटका एक युवकलाई बुधबार पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयको टोलीले हेटौँडा–१५, रातोमाटेस्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा बारातर्फ जाँदै गरेको बीआर ०१ जीजी ९४९५ नम्बरको भरतीय ट्रकलाई जाँच गर्दा प्रहरीले १ सय ६९ किलो गाँजा फेला पारेको थियो ।

गाँजा ओसारपसारमा संलग्न गाडी चालक भारत मोतिहारीका ३० वर्षीय रविन्द्र राय र सहचालक सोही स्थानका ३१ वर्षीय मुक्तार सैफिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाँजा उत्पादनको प्रख्यात मकवानपुरबाट नेपाली र भारतीय तस्करहरुले गाँजा भारत पु¥याउँदै आएको प्रहरी अनुसन्धानले देखाउँछ ।

मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकामा गाँजा उत्पादन हुने गरेको छ । राक्सिराङ र कैलाशका सयौंको संख्यामा वृद्धदेखि युवा गाँजा ओसारपसारको आरोपमा जेल जीवत बिताउँदै आएका छन् । मकवानपुर प्रहरीले हरेक वर्ष राक्सिराङ र कैलाशमा गाँजा र अफिस खेतीको फडानी गर्दै आएको छ ।

यसैगरी बुधवार नै हेटौँडा–१९ नेवारपानीबाट गाँजासहित एक युवक प्रहरीको फन्दामा परेका छन् । मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ३७४१ नम्बरको कन्टेनर गाडीबाट प्रहरीले ४० किलो गाँजा फेला पारेको छ ।

गाडीका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका–४ घर भएका १९ वर्षीय दीपक गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी जयश्वर रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*