आदिकविको सम्झनामा नवोदयमा साहित्यिक कार्यक्रम

बाइलाइन नेपाल
२९ असार २०७८, मंगलवार १९:१६

हेटौंडा । हेटौंडा– ४ मा रहेको नवोदय शिशु सदन विद्यालयले आदिकविको सम्झनामा उनले पु¥याएको योगदानको विषयमा चर्चा परिचर्चा गरिएको छ । २०८ औँ भानु जयन्तीमा नवोदय साहित्यिक बगैँचा बाल क्लबले सोमबार भर्चुअल प्रविधिबाट विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहेका सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले आदिकवि भानुभक्त आचार्यलाई दुईवटा दृष्टिकोणबाट चर्चा परिचर्चा हुने गरेको बताएका छन् । ‘महान काम गरे भनेर एकथरी मानिसले देवत्ककरण गर्ने काम गरे भने अर्का थरिले भानुभक्तले लेखेका लेख रचना, श्लोकहरुलाई आलोचना गर्नतर्फ केन्द्रीत भएको देखिन्छ । भानुभक्तले पु¥याएको योगदानलाई निमिट्यान्न पार्ने प्रयास साहित्यमा भएको पनि देखिन्छ ।’ रामायणलाई भानुभक्तले अनुवाद गरेका होइनन् भावानुवाद गरेका हुन् निखिलले भने –‘रामायण भानुभक्तले सुनेकाले उनले नेपालीमा भावानुवाद गरेका हुन् । भानुभक्तले लेखेको रचनालाई स्वस्थ आलोचना गरेमात्र उहाँलाई सम्मानका लागि सच्चा ठहरिने उनको भनाइ रहेको छ ।

सोमबार भएको विशेष कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जीवनकथामा आधारित नाटक प्रदर्शन, पोलिङ, वर्तमान अवस्थामा बालसाहित्यलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा बहस, तीनपुस्ते साहित्यकारहरुको रचना वाचन रहेको छ ।

कार्यक्रममा वर्तमान अवस्थामा बालसाहित्यलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा पत्रकार सुरेश श्रेष्ठले “अहिलेको समयमा यति धेरै स्थान दिँदा पनि विद्यालयबाट जसरी विद्यार्थीका रचनाहरु आउनु पर्ने हो त्यति नआएको बताए । त्यस्तै शिक्षक दीपक गौतमले “विद्यालयले जुन किसिमले वातावरण दिनुपर्ने हो त्यति दिन सकेको छैन अनि नेपाली भाषाका शिक्षकहरु नै कामचोर भएपछि जुन रुपले विद्यार्थीका सिर्जनालाई स्थान दिएर अगाडि बढ्नु पर्ने हो त्यो रुपले अगाडि बढ्न सकेको छैन । यहाँ औँलामा गन्न सकिने विद्यालयले मात्र यस्तो उदाहरणीय कार्य गरिरहेको छ ।”

विद्यार्थीबाट धनगढीका विभूति अधिकारीले “हामीजस्ता विद्यार्थीले वातावरण पाउने हो भने कुनै पनि विषयमा सिर्जनशील बन्नलाई बेरै लाग्दैन । हरेक साहित्यिक कार्यक्रममा जसरी नवोदयले विद्यार्थीलाई नै अवसर दिएर सञ्चालन गर्दै आएको छ यस्ता अवसरहरु सबैले पाउनुपर्छ ।”

बालसाहित्यकार यशु श्रेष्ठले “विद्यालयस्तरमा बाल पुस्तकहरु ६ महिना पढेर आफूलाई फेरि मूल्याङ्कन गर्नुस् धेरै नै फरक पाउनु हुन्छ, बोलीमा, व्यवहारमा तथा परीक्षाका हरेक लेखाइहरुमा । त्यस्तै बालबालिकाको मनोविज्ञानलाई बुझेर बाल पुस्तकहरु निकाल्नुपर्छ ताकि उनीहरुले पढ्न रुचि देखाऊन् ।”

यसैगरी रचना वाचनमा पुरुषोत्तम आचार्य र प्रशन्ना चौलागाईंले २÷२ वटा पद्यमा रचना वाचन गरेका थिए । नवोदय साहित्यिक बगैंचा बालक्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक अनुषा उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाई क्लबकी सदस्य सासा अधिकारीले स्वागत गरेकी थिइन् । नवोदय साहित्यिक बगैंचा बाल क्लबले गत वर्षदेखि भानु जयन्तीमा विशेष कार्यक्रम गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*