महामारीका विरुद्ध एकजुट बनौंः केन्द्रीय सदस्य उपाध्याय
थाहा । नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले महामारीको विरुद्धमा एकजुट भएर लाग्न अनुरोध गरेकी छिन् ।
आज बिहीवार थाहा नगरपालिकालाई नेपाली काङ्ग्रेस केन्द्रीय समितिको तर्फबाट १ थान १० लिटरको अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गर्ने क्रममा उपाध्यायले कोरोना भाईरसको कारण अक्सिजनको अभावमा कसैलाईपनि समस्या नपरोस भनेर अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरिएको बताइन् ।
कोरोना भाईरसको उपचारमा अक्सिजन अत्यावश्यक भएको र नेपाली काङ्ग्रेस केन्द्रीय समितिको तर्फबाट थाहा नगरपालिकालाई अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरेको थाहा नगरपालिका प्रमुख लवशेर विष्टले धन्यवाद ज्ञापन गरे ।
नगरप्रमुख विष्टले अक्सिजनको अभावमा थाहानगरमा कोहि पनि मर्न नपर्ने बताए । उनले विभिन्न संघसंस्थाको सहयोग र नगरपालिकाको लगानीमा पर्याप्त अक्सिजनको ब्यवस्था भएको बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य दिनेश उपाध्याय, वाग्मती प्रदेश सभा सदस्य सन्तबहादुर चेपाङ, नेपाली काङ्ग्रेस मकवानपुर सदस्य प्रमोद जोशी, रत्नबहादुर गोले, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

राजकुमार केसी











