आज तीनवटा प्रदेशमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

बाइलाइन नेपाल
३ असार २०७८, बिहीबार ०७:५५
फाइल तस्वीर

काठमाडौं । मनसुन सक्रिय हुनबित्तिकै सुरु भएको झरी अझै पनि जारी छ । अहिले प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना विभागको भनाइ छ ।

प्रदेश १, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही भू–भागमा भारि वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसैबीच, अझै केही दिन पानी पर्ने भएको छ । मंगलबार र बुधबारको तुलनामा केही कम वर्षा हुने तर नरोकिने मौसमविद् बताउँछन् ।

अघिल्ला दुई दिनको तुलनामा आज र भोलि केही कम पानी पर्ने तर नरोकिने मौसमविद् मीनकुमार अर्यालको भनाइ छ । “हिजो र अस्ति जसरी अति भारी वर्षा भयो त्यही अनुपातमा अब वर्षा हुने देखिँदैन । तर आज र भोलि पनि गण्डकी, वाग्मती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ,” मौसमविद् अर्याल भन्छन् ।

पानी कम परे पनि सचेत हुनुपर्ने उनी बताउँछन् । ठूलो पानी परेर जमिन गलेकाले सानो पानी पर्दा पनि पहिरो जानसक्ने भएकाले यसबाट सचेत हुनुपर्नेमा उनको जोड छ ।

“यो वर्ष मनसुन सुरु हुनबित्तिकै ठूलो पानी पर्यो । ठूलो पानी पर्दा जमिन गलेकाले जुनसुकै बेला कमजोर जमिनमा पहिरो जाने सम्भावना हुन्छ,” उनी भन्छन्, “त्यसैले कमजोर पहाडी भू–भागमा बसोबास गर्ने व्यक्ति सचेत हुनुपर्छ ।”

कमजोर जमिनमा बस्ति छ भने सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्नेमा उनी सुझाउँछन् । नदी तटीय क्षेत्रमा रहेका बस्ती केही समयका लागि सार्नु पर्ने उनी बताउँछन् ।

“पहाडमा ठूलो पानी पर्दा त्यसको असर तराईमा नदी तटीय क्षेत्रमा देखिन्छ । पहाडमा कुनबेला पानी परिरहेको छ भन्ने थाहा नहुँदा तराईका कुन नदीमा कुन समय बाढी आउँछ भन्ने थाहा हुँदैन । रातको समयमा बाढी आयो भने तराइको नदीकिनारका बस्तिमा जनधनको ठूलो क्षति हुनसक्छ,” मौसमविद् अर्याल भन्छन्, “त्यसैले नदीकिनारमा रहेका बस्ती र कमजोर पहाडका बस्ती केही समयका लागि सुरक्षित स्थानमा स्थानान्तरण गर्न सके सम्भावित क्षतिबाट बच्न सकिन्छ ।”

कतिपय नदीमा पानीको बहाव उच्च हुन बित्तिकै खतराको संकेत स्वरुप अलर्ट राखिएको र ती अलर्ट आफैं बज्ने भएकाले त्यही अनुसार सचेत हुनुपर्ने भन्दै उनी त्यसको पहुँच नभए फोन गरेर भए पनि बुझेर अवस्थाको जानकारी लिनुपर्ने बताउँछन् ।

स्थानीय निकायले आफ्नो क्षेत्रको अवस्था आफ्ना नागरिकलाई निरन्तर सजिलो माध्यमबाट जानकारी गराइरहनु पर्ने र सोही अनुसारको पूर्वतयारी गर्नुपर्ने मौसमविद् अर्यालको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*