घाममा काम लगाउने ९८ कम्पनीलाई कतारले गर्‍यो कारबाही

अनिल पराजुली
३० जेष्ठ २०७८, आईतवार १६:१७

कतार । कतार सरकारले दिउँसो घाममा काम लगाउने ९८ कम्पनीलाई कारबाही गरेको छ । कतार सरकारले जुन महिनाको दोश्रो साता सम्म ९८ कम्पनीलाई कार्वाही गरेको हो ।

प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले दिउँसो घाममा कामदारलाई काममा लगाएको भन्दै ९८ कम्पनीलाई कारबाही गरेको हो । कतार सरकारले पहिलो चरमा घाममा काम लगाउने ५४ कम्पनी र दोश्रो चरणमा ४४ कम्पनीलाई कारबाही गरेको छ । कतार सरकारले पहिलो चरणमा जुन १ देखि ३ तारिखसम्म र दोश्रो चरणमा जुन ४ देखि ९ तारिख सम्म निरीक्षण गरेको कतारबाट प्रकाशित हुने क्यूएन खबरले जनाएको छ ।

२००७ को मन्त्रिपरिष्दको निर्णय १६ अनुसार कतारमा जुन १ देखि सेप्टेम्बर १५ सम्म बिहान १० बाट बेलुका ३ः३० बजे सम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काम लगाउन नपाइने नियम छ । कारबाहीमा परेका निर्माण, मर्मत, कृषि र उद्योग क्षेत्रका कम्पनीलाई तीन दिन बन्द गर्नुपर्ने सजाय दिएको मन्त्रालयले जनाएको छ ।

कतारको अल मुन्ताजा, खलीफा शहर, अल वाक्रा, अल वूकैर, अल सैलिया, अल खैरैत्यायत, अल राययान अल जदीद, ऐन खालिद, उम्म सलाल मुहम्मद, लुसाइल, अल डफना, मुरैख, र अल मशाफमा रहेका कम्पनीले नियम उलंघन गरेका थिए ।मन्त्रालयले सबै कम्पनीलाई निषेधित समयमा काम नलगाउन निर्देशन दिएको छ ।

मन्त्रालयले गत वर्ष नियम उलंघन गर्ने २०० बढी कम्पनीलाई कारबाही गरेको थियो । कम्पनीले नियमको उल्लंघन गरे ४०२८०६६० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । कतारमा बढीमा ५५ डिग्री र घटीमा १७ डिग्री सम्म तापक्रम हुने गरेको छ । नेपाली राजदूतावास दोहा कतारका अनुसार कतारमा करिव ३ लाख ५१ हजार नेपाली श्रमिक कार्यरत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*