यस वर्षको मनसुन खतरायुक्त हुने, सुरक्षित हुन सुझाव
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षभन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगव्याधिले धेरैलाई असर गर्नसक्ने बताए ।
उनले दक्षिण एसियाको मौसम सम्बन्धी आउटलूकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताए । अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपतको घटना कहालीलाग्दो हुनसक्ने बताए ।
उनले भने, ‘पोहोरभन्दा यसपालि झन् गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षति व्यहोर्नुपर्यो । यो वर्ष झन् कहालीलाग्दो किन छ भने मौसम आउटलूक जुन तयार पारिन्छ, सरदरभन्दा बढी पानी पर्ने देखिएको छ । बाढी, पहिरोको घटना र अन्य रोगव्याधिका घटना नि बढ्ने देखेका छौं ।’
डा. पोखरेलले बाढी, पहिरो, रोगव्याधी, सर्पदंश लगायतले १२० दिनसम्म पिरोल्ने भएकाले विपद्बाट बच्न पूर्व तयारी आवश्यक रहेको बताए । जोखिमका बस्तीहरू छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उनको भनाई छ ।
उनले भने, ‘हरेक व्यक्ति, समुदायको आ–आफ्नो ठाउँमा पूर्व तयारी गर्नु आवश्यक छ । जोखिमका बस्तीहरू छन् भने सुरक्षित हुन अविलम्ब उपाय शुरू गर्नुपर्छ । सरसामग्रीको जोहो गर्ने बेला यही हो । यो तयारी शुरू गरौं ।’
उनले विपद्बाट बच्नका लागि र जानकारी प्राप्त गर्नका लागि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफूहरूले प्रेषित गर्ने सन्देशहरू निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गरे ।

बाइलाइन नेपाल











