आज राति नेपालबाट ‘सुपर ब्लड मुन’ देखिन्छ ?
काठमाडौंमा बुधबार साँझ ७:५३ देखि ८:३४ सम्म पेनम्ब्रल चन्द्रग्रहण लाग्दैछ। नेपाली पात्रोमा प्राथमिकता नदिइने यो चन्द्रग्रहण वैज्ञानिकहरूका लागि अध्ययनको विषय हो। यो ग्रहण नांगो आँखाले नदेखिने हुँदा यसलाई प्राथमिकता दिइएको छैन।
यसैबीच पश्चिमी मुलुकहरूमा ‘सुपर ब्लड मुन’ अर्थात चन्द्रमा रगतजस्तो देखिनेछ। बुधबारको चन्द्रमा पूर्णिमामा अरूबेला देखिनेभन्दा चम्किलो र अझ रातो देखिने हुँदा सुपर ब्लड मुन भनिएको हो।
कतिपयले यो सुपर ब्लड मुन नेपालमै देखिने हो की भन्ने पनि ठानेका छन्। नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले नेपालबाट सुपर ब्लड मुन नदेखिने बताए। द गार्डियनका अनुसार उत्तर अमेरिका, दक्षिण अमेरिका र पूर्वी एसियामा सुपर ब्लड मुन देखिनेछ।
एकैसाथ पूर्णिमा, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र खग्रास चन्द्रग्रहण हुने हुँदा चन्द्रमा रातो हुने अध्यक्ष भट्टराईले बताए। ‘चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुँदा हामीले सुपर मुन भन्छौं र टाढा भयो भने माइक्रो मुन भन्छौं। र विदेशी मिडियाले सुपर ब्लड मुन भन्नुको कारणचाहिँ एकैदिन पूर्णिमा पर्नू, सुपर मुन हुनु र ग्रहण लाग्नाले पनि हो,’ भट्टराईले भने।
नेपालमा पेनम्ब्रल चन्द्र ग्रहणमात्रै लाग्ने हुँदा सुपर ब्लड मुन नदेखिने उनले बताए। ‘काठमाडौंबाट सुपर मुन देखिएला तर ब्लड मुन देखिन्न। पूर्णिमा पनि भएको हुँदा सामान्य रातभन्दा चन्द्रमा बढी चम्किलो होला। प्रदुषणले गर्दा चन्द्रमा रातो देखिएछ भने पनि संयोगमात्रै हुन्छ,’ उनले भने,’आज चन्द्रमा अरूको तुलनामा आकर्षक देखिन्छ। चन्द्रमा हेरिरहनेहरूले याद गर्न सक्नुहुन्छ होला।’
आज चन्द्रमा पृथ्वीभन्दा करिब ३ लाख ५७ हजार ३११ किलोमिटर टाढा हुनेछ। सुपर मुन हुँदा माइक्रो मुनभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी उज्यालो देखिन्छ।
सुपर ब्लड मुन पाँच घन्टासम्म हुने भए पनि यो केही ठाउँबाट १५ मिनेटसम्म आकर्षक देखिने द गार्डियनले जनाएको छ। अमेरिकाको हवाईबाट सबैभन्दा आकर्षक देखिने भनिएको छ भने त्यसपछि क्रमश: क्यालिफोर्निया, प्यासिफिक उत्तर-पश्चिमी मुलुक, न्युजिल्यान्ड र अष्ट्रेलियामा देखिनेछ।
के हो पेनम्ब्रल चन्द्रग्रहण ?
बुधबार नेपालमा पेनम्ब्रल चन्द्र ग्रहण करिब ४१ मिनेटको हुनेछ। ७ बजेर ५३ मिनेटमा सुरू भएर ८ बजेर ३४ मिनेटमा सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। ८ बजेर ३ मिनेटमा मध्ये हुनेछ भने यो समयमा चन्द्रको सबैभन्दा धेरै भाग ढाकिनेछ।
सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छाया चन्द्रमामा पर्नु हो। यस्तो छाया दुई प्रकारको हुन्छ, सघन र विरल।
यदि चन्द्रमामा पृथ्वीको सघन छाया परेमा खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने विरल छाया पर्दा पेनम्ब्रल चन्द्रग्रहण हुन्छ। नेपाली पात्रोमा प्रायजसो नांगो आँखाले देख्न सकिने ग्रहणमात्रै उल्लेख गरिएको भट्टराईले बताए।
वैज्ञानिकहरूलाई यो ग्रहण अध्ययनको विषय हुने भएकाले महत्वपूर्ण रहन्छ। पेनम्ब्रल ग्रहणलाई यसअघि नेपालीकरण गर्न खोजिए पनि चलनचल्तीमा आएको पाइँदैन।
एस्ट्रोनोमिकल सोसाइटीका अनुसार यसअघि पेनम्ब्रललाई ‘विरल छाया नजिक चन्द्रग्रहण’ भन्ने शब्द राखिएको थियो। तर त्यो नाम बुझ्न गाह्रो हुने देखिएपछि सोसाइटीले पेनम्ब्रललाई नै प्राथमिकतामा राखेको हो।

बाइलाइन नेपाल











