हेटौंडामा बन्ने भयो अक्सिजन प्लान्ट, अस्पताल र उद्योग संघ बीच सम्झौता
हेटौंडा । हेटौंडामा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । कोरोनाका संक्रमितलाई अक्सिजनको कमीका कारण उपचारमा समस्या आएपछि हेटौंडामा अक्सिजन प्लान्ट निर्माणको चर्चा र पहल हुँदै आएको थियो ।
यसैबीच आज मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल र उधोग संघ मकवानपुर बिच अक्सिजन प्लान्ट स्थापना गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार प्लान्ट १ महिना भित्रमा स्थापना गरिक्ने जनाइएको छ । प्रतिदिन ११० ओटा अक्सिजन सिलिण्डर उत्पादन क्षमता भएको अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति भएको प्रतिष्ठान सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।
सम्झौता पत्रमा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा रजिष्ट्रार राजेश प्रसाईं र उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले हस्ताक्षर गरेका छन् ।
सामाजिक विकास मन्त्रालयको रोहबरमा भएको सम्झौतामा प्लान्ट निर्माणको सम्पूर्ण खर्च उधोग संघ मकवानुपुरले बेहोर्ने जनाइएको छ । प्लान्ट स्थापनाको लागि कूल १ करोड २८ लाख रुपैँया लाग्ने अनुमान गरिएको छ ।

बाइलाइन नेपाल











