आधुनिक माविले रेडियो पाठशाला सुरु गर्ने
हेटौंडा । कोरोना भाईरसको कारण प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेपछि हेटौंडामा रहेको सामुदायिक विद्यालय आधुनिक राष्ट्रिय माविले नयाँ शैक्षिक सत्रको पठनपाठन रेडियोमार्फत् गर्ने भएको छ । माविले भोलि बुधबारबाट प्रविधिको उपयोग गर्दै एफएम रेडियोबाट रेडियो पाठशाला कार्यक्रम मार्फत आफ्ना विद्यार्थीलाई पढाउन शुरु गर्ने भएको हो ।
आधुनिकले सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज र रेडियो निकास ९३.४ मेगाहर्जबाट रेडियो पाठशाला शुरु गर्ने भएको छ । गतवर्ष पनि अनलाईन मार्फत् पढाएको आधुनिकले यसवर्ष रेडियोसंगैं टेलिभिजनबाट कक्षा सुरु गर्ने तयारी गरेको बिद्यालयका प्रधानाध्यापक बिरबंश बैंठाले बताए ।
निषेधाज्ञा कहिलेसम्म रहने ? कहिलेबाट कक्षा सुरु हुने अन्यौलता भएपछि जिल्लाको नमुना सामुदायिक विद्यालय आधुनिकले प्रविधिको उपयोग गरेर रेडियो, टेलिभिजन र अनलाइनबाटै पढाउने तयारी गरेको प्रधानाध्यापक बैंठाले जानकारी दिए ।
कक्षा ८ र १० का नेपाली र अग्रेजी दुबैं माध्यमका विद्यार्थीलाई भोलिबाट नेपाली, अग्रेजी, सामाजिक र जनसङ्ख्या बिषयको पढाई शुरु गरिने उनले बताए । निषेधाज्ञा हटेपनि तत्कालै विद्यालय सञ्चालनको वातावरण नभएकाले विद्यार्थीलाई प्रविधिको उपयोग गरेर रेडियो, टेलिभिजन र अनलाइनबाटै भएपनि पढाउँदै जाने तयारीमा विद्यालय लागेको बैंठाको भनाई छ । कक्षा ८ र १० का नेपाली र अग्रेजी दुबैं माध्यमबाट कक्षा सुरु गर्दा ९० प्रतिशितभन्दा धेरै विद्यार्थीले पढ्न पाउने बैंठाले जानकारी दिए ।
विद्यालयले हरेक दिन बिहान ८ बजेबाट ९ बजेसम्म रेडियो सन्देश १०६.९ मेगाहर्जबाट पढाउने भएको छ भने अपरान्ह ४ बजे रेडियो निकासबाट पढाउने भएको छ । विधालयले लामो समयदेखि दैनिक अनलाइनबाट पनि पढाई जारी राखेको छ । विद्यार्थीसँगै अभिभावकलाई पनि आफ्ना नानीबाबुहरुलाई कसरी अध्ययनमा लगाउने ? के पढाउने भनेर विद्यालयले छलफल गर्ने बैठाको भनाइ छ ।
विद्यार्थीहरुका लागि आवश्यक भिडियोहरु अभिभावकलाई उपलब्ध गराएर हेर्न लगाउने लगायतका काम पनि हुने बैंठाले जानकारी दिए । अनलाइन कक्षामा अभिभावकको सहयोग आवश्यक पर्ने भएकाले विद्यालयले अभिभावकसँग पनि छलफल गरिरहेको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड–१९ ले सृजना गरेको विषम परिस्थितिका कारण शिक्षा क्षेत्र पनि प्रभावित भएको भन्दैं मन्त्रालयले गतबर्ष नै “वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७७” जारी गरिसकेको छ ।

बाइलाइन नेपाल











