हेटौंडामा अक्सिजन जुटाउँदै व्यवसायी समूह
हेटौंडा। हेटौंडाका अस्पतालहरुमा अक्सिजनको अभावमा कोरोना संक्रमितको उपचारमा समस्या आउन थालेपछि विभिन्न संघसंस्था र व्यक्तिले अक्सिजन सिलिण्डर सहयोग गर्न थालेका छन् । अक्सिजनकै कारण संक्रमितको उपचारमा समस्या आउन नदिन सामाजिक संघसंस्था र समूहहरु जुट्न थालेका हुन् ।
यसैबीच, उद्योगीव्यवसायीका विभिन्न समूहले अक्सिजनको सिलिण्डर सहयोग गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षसहित प्यानल घोषणा गरेका व्यवसायीका समूहले अक्सिजन सिलिण्डर सहयोग गरेका हुन् ।
संघमा अध्यक्षको उम्मेदवार घोषणा गरेका राजकुमार न्यौपाने सहित रामप्रसाद न्यौपाने, प्रतिमा श्रेष्ठको समूहले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर दिएको छ। आज बिहान एक समारोहबीच प्रतिष्ठानका रजिष्टार एवम् हेटौँडा अस्पताल समितिका अध्यक्ष राजेश प्रसाईलाई उक्त अक्सिजन सिलिण्डर रामप्रसाद न्यौपाने नेतृत्वको टोलीले हस्तान्तरण गरेका हुन्।
समूहको तर्फबाट संघमा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका रामप्रसाद न्यौपाने नेतृत्वको टोलीले आजै मानवसेवा आश्रमलाई १६ बोरा चामल र ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई मास्क समेत सहयोग गरेको छ ।
यस्तै संघको अध्यक्ष पदका उम्मेदवार महेन्द्र राउतसँगै ,रबिन्द्र घिमिरे, अनिल अग्रवाल,कृ्ष्णराम न्यौपाने र युवाकर मैनाली सहितको समूहलले हेटौंडामा लायन्सद्वारा स्थापना गरेको अक्सिजन बैंकलाई ४० थान अक्सिजन सिलिण्डर सहयोगगरेका हुन्।


बाइलाइन नेपाल











