थाहामा प्रशासनको निषेधाज्ञा उलंघन गर्दै वडाको छुट्टै निर्णय
थाहानगर । जिल्ला प्रशासन कार्यालय मकवानपुरको निषेधाज्ञा नै उलंघन हुने गरि थाहा नगरपालिकाको ७ नम्बर वडा कार्यालयले छुट्टै निर्णय गरी पालनाका लागि सर्वसाधारणलाई सूचना गरेको छ । वडाध्यक्ष सनमसिं मुक्तानद्वारा जारी सूचनामा जिल्ला प्रशासन कार्यालय कै निषेधाज्ञाको उलंघन हुने गरि जारी भएको हो ।
जिल्ला प्रशासनले गत बैशाख ३० गते जारी गरेको निषेधाज्ञामा अत्यावश्यक पसलहरु (खाद्यान्न, अन्न, दूध, फलफुल, तरकारी, माछामासु) बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाउने व्यवस्था छ ।
तर, वडा कार्यालयले किराना पसल बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुकी साढे ४ बजेदेखि साढे ७ बजेसम्म खोल्न आदेश गरेको छ । ‘व्यवहारिक विषय एक पक्षीय कुरा हो तर, माथिल्लो निकायको आदेश उलंघन गरि सुचना जारी गर्नु हास्यास्पद मात्र नभइ कानुन कै उलंघन भएको हो,’एक सरकारी अधिकारीले भने ।
वडाले पनि बैशाख ३० गतेकै मितिमा सूचना जारी गरेको देखिन्छ तर, जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस अगाडि पनि सोही बमोजिम कै सूचना जिल्ला भर कार्यान्वयनका लागि सुचित गरेको थियो । थाहानगरमा सोमबारसम्म कोरोना संक्रमितको संख्या २ सय २४ पुगिसकेको छ ।

सुरेन्द्रमान प्रधान











