थाहा–८ मा मात्रै आज १४ संक्रमित, नगरभरि २ सय २४ पुग्यो
थाहानगर । लगातार कोरोना संक्रमितको संख्या वृद्धि भइ आइतबार २० प्रतिशतमा झरेको संक्रमित दर सोमबार फेरि बढेको छ । आज आएको रिपोर्टमा थाहा नगरमा फेरि कोरोना संक्रमितको संख्या बढ्को हो ।
केही दिन अघि थाहा नगरपालिका ८ नम्बर वडाबाट २८ जनाको स्वाब संकलन गरि पठाएकोमा १४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित सबै १७ वर्षदेखि ४१ वर्षसम्मका छन् । यो सङ्गै थाहा ८ मा संक्रमितको संख्या १५ पुगेको छ ।
यसैगरि, थाहा नगरका स्वास्थ्य केन्द्रहरुमा लक्षणसहितका ११ जना बिरामीको एन्टिजेन विधिबाट स्वाव परिक्षण गरिएकोमा ८ जनाको पोजेटिभ रिपोर्ट आएको डा। रिकेश कार्कीले बताए । सोमबार थाहा १ का २ जना, २ का २ जना, ३ का २ जना, ४ का १ जना र ५ का १ जना छन् । तीमध्ये एक जना किरिया पुत्री समेत छन् । आजै थाहा ४ का एक संक्रमितलाई थप उपचारका लागि रिफर गरिएको छ ।
सोमबारसम्ममा थाहानगरमा कुल संक्रमितको संख्या २ सय २४ पुगेको छ । तीमध्ये १२ जना निको भएका छन् । ६ जना नगर बाहिर उपचाररत छन् भने २ सय ३ जना होम आइसोलेसनमा छन् । हालसम्म २ जना संक्रमितको मृत्यु भईसकेको छ ।
यसैबीच, सोमबार बसेको कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समिति र एम्बुलेन्स व्यवस्थापन समितिका पदाधिकारीहरुको बैठकले कोरोनाका बिरामीलाई भाडामा छुट गर्ने निर्णय गरेको छ ।
बैठकले थाहानगरभित्रबाट नगरभित्रकै स्वास्थ्य केन्द्रसम्म ल्याउन लान प्रचलित भाडा दरमा आधा छुट दिने निर्णय गरेको हो । बैठकले आधा भाडा समेत तिर्न नसक्ने बिपन्न परिवारका बिरामीलाई भने वडा कार्यालयको सिफारिसमा पुरै भाडा छुट दिने निर्णय गरेको छ ।
यसैबीच, थाहानगरमा एम्बुलेन्सको अभाव टार्न कोभिड बाहेकका बिरामी बोक्न जिम्मा लगाएको अटोरिक्सालाई जनगुनासो नआउने गरि भाडा लिन निर्देशन दिएको छ । सोमबार नै अटो व्यवसायी संघका पदाधिकारीहरुसङ्ग बसेको बैठकले अटोलाई कोरोनाको बिरामी नबोक्न निर्देशन दिएको छ । कोरोनाको बिरामी बोक्दा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै कोभिडको बिरामी नबोक्न र अन्य प्रयोजनका लागि अटो संचालन नगर्न अनुरोध गरेको हो ।

सुरेन्द्रमान प्रधान











