राष्ट्रियसभामा खिमलाललाई जिताउन माओवादीको ह्वीप

बाइलाइन नेपाल
३ जेष्ठ २०७८, सोमबार १८:३४

एमालेबाट उम्मेदवार बनेका रामबहादुर थापा बादल प्रतिगमनको मतियार बनेको भन्दै राष्ट्रियसभा निर्वाचनमा खिमलाल देवकोटालाई मत हाल्न माओवादी केन्द्रले ह्वीप जारी गरेको छ ।

बागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनका साझा उम्मेदवार देवकोटलाई मतदान गर्न माओवादी केन्द्रले ह्वीप जारी गरेको हो । सोमबार माओवादी केन्द्रका बागमती प्रदेश सह-इन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गरी देवकोटालाई जिताउन आह्वान गरेका छन् ।

संघीयतका विज्ञ रहेका देवकोटाले गणतन्त्रका उपलब्धिलाई नीतिगत ढंगले सुदृढिकरणमा सहयोग पुर्‍याउने भएकाले विजयी गराउनुपर्ने माओवादी केन्द्रको तर्क छ । ‘संघीयता, गणतन्त्रका उपलब्धिलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा. खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरूको दायित्व बन्न आउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले बागमती प्रदेशसभाका सबै माननीय सदस्यहरू, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै आदरणीय प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षलाई कलम चुनाव चिह्नमा मतदान गरी डा. खिमलाल देवकोटालाई विजयी गराउन नेकपा माओवादी केन्द्र बागमती प्रदेश समिति हार्दिक अनुरोध गर्दछ ।’

विज्ञप्तिमा एमालेका उम्मेदवार बादललाई संघीयता र संविधान विरोधी गतिविधिमा लागेको आरोप लगाइएको छ । बागमती प्रदेशबाट लागि राष्ट्रियसभामा ६ जेठमा निर्वाचन हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*