खिमलाल देवकोटाले भनेः उम्मेवारी पुर्नविचार गर्ने कुरा कल्पना भन्दा बाहिरको विषय
हेटौंडा । एमालेमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समूह बीच सहमति हुने भएपछि राष्ट्रिय सभाको उप निर्वाचनमा उम्मेदवार बनेका डा. खिमलाल देवकोटाको उम्मेदवारी के हुन्छ भन्ने चासोको विषय बनेको छ । एमालेमा विवाद रहदा नेपाल समूहको तर्फबाट नेपाली काँग्रेस, माआवादी र जसपाको तर्फबाट उम्मेदवारी दिएका देवकोटा अब उम्मेदवार रहन्छ कि रहदैन भन्ने विषयले चर्चा पाएको छ ।
एमालेका ओली समूहका उम्मेदवार रामबहादुर थापा बादलसँग चुनावी मैदानमा उत्रिएका देवकोटालाई एमालेको विवाद समाधानतर्फ उन्मुख भएपछि कसरी व्यवस्थापन गर्लान भन्ने प्रश्न पनि उब्जिएको छ । धेरैले ओली र नेपालबीच सहमति कायम रहेमा देवकोटालाई पछाडि हटाउँछन् भन्ने अनुमान गरेका छन् । जेठ ६ गतेसम्म ओली र नेपाल बीच हुने वार्ता र घटनाक्रमले मात्र यसको टुंगो लाग्ने देखिन्छ ।
तर गठबन्धकातर्फबाट उम्मेदवारी दिएका डा. देवकोटाले भने आफ्नो उम्मेदवारी कायम रहेन बताएका छन् । आज सामाजिक सञ्जालमार्फत् उनले राष्ट्रिय सभा सदस्यमा आफ्नो उम्मेदवारी कायम रहने उल्लेख गर्दै सबै मतदातालाई कलम चिन्हमा मतदान गर्न आव्हान गरेका छन् ।
उनले वैशाख ३० गते भएको राजनीतिक घटनाक्रम पछि मेरा आदरणीय अभिभावक, शुभचिन्तक एवं मतदाताज्यूहरुले आफ्नो उम्मेदवारी प्रति जिज्ञासा राखेको उल्लेख गर्दै यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा बाहिरको विषय भएको उल्लेख गरेका छन् ।
मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण लगायतका लागि राजनीतिक दलहरु विभाजित हुनु नहुने उल्लेख गर्दै उम्मेदवार देवकोटाले भनेका छन्–‘ राजनीतिक पार्टी नीति, विधी र पद्धतीमा चल्नु पर्दछ, । यसमा विवाद हुन सक्दैन । तर, मुलुकका प्रमुख राजनीतिक दल नेपाली काँग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय हो ।’
उनले भनेका छन्–‘निष्ठा र ईमान्दारिताको राजनीति प्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरुले म प्रति गर्नुभएको विश्वाश र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ । ’


बाइलाइन नेपाल











