चीनले सगरमाथाको चुचुरोमा ‘लाइन’ कोर्ने !

बाइलाइन नेपाल
२७ बैशाख २०७८, सोमबार ०९:२४

उत्तरी छिमेकी चीनले संसारकै अग्लो शिखर सगरमाथाको चुचुरोमा एउटा लाइन हाल्ने बताएको छ। सगरमाथा आरोहणको सिजन चलिरहेका बेला नेपालतर्फबाट जाने आरोहीसँग तिब्बततर्फबाट आउने आरोहीको सम्पर्क नहोस् भनेर चीनले ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो चुचुरोमा एउटा लाइन हाल्न लागेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

तिब्बततिरबाट केही गाइडहरू सगरमाथाको चुचुरोतिर गइरहेको र उनीहरूले बाँकी आरोहीका लागि चुचुरोमा लाइन बनाउने समाचार उल्लेख गरिएको छ।

अहिले २१ जना चिनियाँ नागरिकहरू सगरमाथा आरोहणको क्रममा छन्। चुचुरोमा चिनियाँहरूले कसरी लाइन कोर्छन् र त्यो पालना कसरी गराउँछन् भन्ने खुलिसकेको छैन। कोरोनाभाइरसको संक्रमण रोक्न चिनियाँ पक्षले यसपालि कुनै पनि विदेशीलाई आफ्नोतर्फबाट सगरमाथा आरोहणको अनुमति दिएको छैन।

गत वर्ष लकडाउनका कारण बन्द भएको सगरमाथा आरोहण यसपालि नेपाल सरकारले भने विदेशीहरूका लागि खुला गरेको छ। यसपालिको पहिलो चरणमा केही नेपाली आरोहीले सगरमाथाको चुचुरोमा पाइला टेकिसकेका छन्।

सगरमाथा आधार शिविरमा पुगेकालाई कोरोनाको संक्रमण भएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारहरू प्रकाशित भए पनि नेपाल सरकारले भने औपचारिक रूपमा त्यसबारे कुनै जानकारी दिएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*