काठमाडौंमा मात्रै ३१ सय बढीमा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ३१ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएअनुसार ३१६३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ। यसअघि बुधबार ५८ जनाले ज्यान गुमाएका थिए । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार नाघेको छ । बिहीबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको हो भने संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै देशमा ९०७० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः ८९७० र १०० जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

बाइलाइन नेपाल











