थाहानगरमा आज १२ संक्रमित थपिए, वडावडामा समिति बन्दै
थाहानगर/ थाहानगरमा पनि कोभिड-१९ संक्रमितको संख्या दिनहुुँ बढ्दो छ । मङ्गलबार मात्रै एकै परिवारका पाँच सहित १२ जना कोरोना संक्रमित भएका छन् । मङ्गलबार थपिएका संक्रमितहरु धेरैजसो थाहा ३ का छन् ।
तीमध्ये एकै परिवारका पाँच जना र एउटै विवाह भोज खाएका तीन जना छन् । संक्रमितमध्ये ६ महिना, १८ महिना उमेरदेखि ४८ वर्षसम्मका छन् । १६ जनाको एन्टीजेन परिक्षण गरिएकोमा १२ जनामा पोजेटिभ रिपोर्ट आएको हो ।
मङ्गलबारसम्म थाहानगरमा संक्रमितको संख्या ६२ पुगेको छ । तीमध्ये स्वासप्रस्वासमा समस्या रहेका एक जनाको काठमाडौमा उपचार भैरहेको छ्भने ६१ जना होम आइसोलेशनमा छ्न । होम आइसोलेशनमा रहेका सबै संक्रमितको नियमित स्वास्थ अवस्था निगरानी गरिरहेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङका डा. रिकेश कार्कीले बताए ।
यसैबीच, कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने हेतुले थाहा नगरपालिकाले वडा/वडामा समितिहरु गठन कार्य सुरु गरेको छ । मङ्गलबार मात्रै वडा नम्बर ६, ९ र १० मा वडाध्यक्षको संयोजकत्वमा समितिहरु गठन गरिएको छ । समितिमा सबै वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि, वडामा कृयाशील संघसंस्थाका प्रतिनिधि सम्मिलित छ्न ।
समितिले निषेधाज्ञा पुर्ण पालना गर्न लगाइ कोरोना संक्रमण न्यूनिकरणका लागि विभिन्न गतिबिधिहरु संचालन गर्ने नगर प्रमुख लवशेर विष्टले बताए । भौतिक दूरी कायम गरि छुट्टाछुट्टै स्थानहरुमा भएको बैठकमा प्रमुख विष्टले आफुआफैले अनुशासन पालना गरेमा कोरोना नियन्त्रण हुने बताए ।
बैठकमा नगर स्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिका उपसंयोजक खड्ग गोपाली, सदस्यहरु सुरेन्द्रमान प्रधान, योगेन्द्रमान श्रेष्ठ, अरुण रायमाझी, भरत गोपालीलगायतको सहभागिता थियो ।

सुरेन्द्रमान प्रधान











