कोरोना लागेका सांसदले कसरी गर्लान् ओलीको पक्ष–विपक्षमा मतदान ?

पीसीआर जाँच नगरी प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नपाइने
बाइलाइन नेपाल
२० बैशाख २०७८, सोमबार १५:४४

कोरोनाको महामारीकै नीचमा आगामी बैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधिभासको बैठक बस्दैछ । प्रधानमन्त्रीले आफूसँग बहुमत सदस्यको विश्वास छ कि छैन भनेर जाँच गर्न यो अधिवेशन डाकिएको हो । बैठकमा प्रधानमन्त्रीको पक्ष र विपक्षमा सांसदहरुले मतदान गर्नुपर्ने छ । तर, धेरैजना सांसदहरु कोरोना पोजेटिभ भएर अहिले आइसोलेसनमा छन् । कोरोना पोजेटिभ देखिएका सांसदहरुले एउटै कापीमा कसरी हस्ताक्षर गर्ने भन्ने अन्योल छ ।

संसद सचिवालयले सोमबारदेखि नै बैशाख २७ को बैठकसम्बन्धी तयारी सुरु गरेको छ । सोमबार दिउँसो डा. भगवान कोइराला लगायतका चिकित्सकहरुलाई संसद भवनको निरीक्षण समेत गराएर परामर्श लिइएको संसद सचिवालयका कर्मचारीले जानकारी दिए ।

स्रोतले रातोपाटीसँग भन्यो, ‘विज्ञ चिकित्सकहरुको टोलीले स्थलगत निरीक्षण गरेपछि सभामुखज्यूले स्वास्थ्य सम्बन्धी मापदण्डबारे डाक्टरहरूसँग छलफल गर्नुभएको छ । उहाँहरुको सुझावअनुसार बैठक अगाडि बढ्छ ।’

चिकित्सकहरुको सुझाव अनुसार बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा पीसीआर जाँच नगरी सांसदहरुले सहभागिता जनाउन नपाउने भएका छन् । बैठकमा उपस्थित हुँदा मास्क अनिवार्य लगाउनुपर्ने छ भने सांसदहरुले दुई मिटरको दुरीमा रहनुपर्नेछ ।

पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएका सांसदहरुलाई मतदानमा कसरी सहभागी गराउने भन्नेबारे चाहिँ कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर टुंगो लगाइने संसद सचिवालय स्रोतले रातोपाटीलाई बतायो ।

सभामुखले आयोजना गरेको छलफलमा प्राडा भगवान कोइराला, डा. लोचन कार्की, डा. अनुप सुवेदी लगायतका चिकित्सकको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*