‘एमालेले गुनासो सुन्यो, हामी संसदीय दलमा फर्कियौं’
लुम्बिनी प्रदेशका स्वतन्त्र राजनीति समूहका प्रदेशसभा सदस्य अजय शाहीले एमालेले आफूहरुको गुनासो सुनुवाइ गरेकाले सो पार्टीको संसदीय दलमा फर्किएको बताएका छन् । उनले भने, ‘एमालेसँग हाम्रो केही गुनासो र असन्तुष्टि थियो, त्यही भएर त्यसलाई छाडेर विपक्षी गठबन्धनमा लागेका थियौं, तर एमालेले हाम्रो गुनासो र असन्तुष्टि सम्बोधन गरेपछि फर्केका हौं ।’
एमालेको चुनाव चिन्हबाट चुनाव जितेपनि सो पार्टीको संसदीय दलमा स्वतन्त्र राजनीतिक समूहको कुनै मान सम्मान र प्रतिष्ठा नभएको गुनासो गर्दै उनले त्यसका लागि आफूहरुले पटक पटक कुरा उठाउँदै आएपनि सुनुवाइ नभएको बताए ।
यस विषयमा केन्द्रीय मन्त्री एवं समूहका संयोजक हृदयश त्रिपाठी, संघीय सांसद वृजेश गुप्तालगायतसँग छलफल भएपछि एमालेले आफूहरुको गुनासो सम्बोधन गरेको उनको दावी छ ।
उनले आफूहरु कारवाहीको डरले एमालेको संसदीय दलमा नफर्केको पनि दावी गरे । उनीसहित विपक्षी गठबन्धनतिर लागेका धर्मवहादुर लाल श्रीवास्तवले विज्ञप्ति समेत जारी गरेर एमाले संसदीय दलमा फर्किएको स्पष्ट पारिसकेका छन् । उनीहरुले आइतबार भने सूर्य चिन्हबाट निर्वाचन लडेपनि मुख्यमन्त्री शंकर पोखरेलको विपक्षमा हस्ताक्षर गरेका थिए ।
तर २४ घण्टा नबित्दै कपिलवस्तु–२ ‘ख’ बाट निर्वाचित श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित शाहीले आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको जनाएका हुन् ।

बाइलाइन नेपाल











