मुख्यमन्त्री पौडेलद्वारा मन्त्रिपरिषद् विस्तार,३ मन्त्री र १ राज्यमन्त्री नियुक्त

बाइलाइन नेपाल
१५ बैशाख २०७८, बुधबार १६:२३
Bagmati Province, Dormani Poudel

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेलले खाली रहेका तीन मन्त्रालयमा तीन मन्त्री र एक राज्यमन्त्री समेत नियुक्त गरिएको मुख्यमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नुवाकोटका केशवराज पाण्डे, उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा सिन्धुपाल्चोकका सरेश नेपाल र सामाजिक विकासमन्त्रीमा दोलखाकी सरस्वती बस्नेतलाई नियुक्त गरिएको छ ।

यसैगरि सामाजिक विकास राज्यमन्त्रीमा धादिङका डा. रामकुमार अधिकारी नियुक्त गरिएको छ । नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै हुने स्रोतले जनाएको छ ।

नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा १० पुसमा तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएको थियो ।

सरकारबाट बाहिरिँदा तत्कालीन आन्तरिक मामिलामन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएपछि बागमतीका तीन मन्त्रालय मन्त्री विहीन छ । हालसम्म तीन वटै मन्त्रालय मुख्यमन्त्री पौडेलले सम्हाल्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*