प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचिनबाट जोगिए

बाइलाइन नेपाल
१५ बैशाख २०७८, बुधबार १२:३४

प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर फिर्ता पठाएको हो ।

गत १४ महिनाको अवधिमा भारततर्फ प्रलोभनमा परेर लग्दै गरेका महिलाको सीमानाकामा रोकथाम गरिएको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताइन् । उनका अनुसार भारतमा रोजगारी र विवाहको प्रलोभन दिएर दलालहरूले महिलालाई सीमानाकामा पु¥याउने गरेका छन् ।

“रोजागरी, विवाह र घुमघाम गर्ने प्रलोभनमा पारी भारत लैजाँदै गरेको अवस्थामा महिलालाई सीमानाकामा रोकथाम गरेका छौँ”, उनले भनिन्, “सीमा क्षेत्रमा प्रलोभनमा पारेर ल्याइएका ६५ महिलालाई सम्झाइबुझाइ गरेपछि जोखिममा परेको महसुस गरी घर फिर्ता भएका छन् ।” उनले भनिन्, “सीमानाकामा रोकेर जोगिएका छन् । नत्र सीमापारि पुगेपछि बेचिने बाहेक अन्य विकल्प नै हुँदैन ।”

सीमाबाट घर फर्काएकामध्ये सबैभन्दा बढी दलित समुदायका छन् । संस्थाका अनुसार दलित समुदायका ५३ महिला छन् । यसैगरी अन्य ६० र जनजाति समुदायका १२ जना छन् । दलित र जनजाति समुदायमा गरिबी र अशिक्षाका कारण ती समुदायका महिला भारतमा बेच्न लैजाने गरेको संयोजक भट्टले बताइन् । सीमा क्षेत्रबाट रोकथाम गरी घर फिर्ता गराएकामध्ये ९० महिला सुदूरपश्चिम प्रदेशकै रहेका छन् । जसमध्ये कञ्चनपुरका ४१, बझाङका १० र कैलालीका १८ जना छन् ।

माइती नेपालले दुई महिनामा ११ हजार ५८४ जनालाई सीमानाकामा बेचबिखनसम्बन्धी परामर्श दिएको छ । सीमानाकामा ४१४ सवारी साधन जाँच गरी शङ्कास्पद व्यक्तिलाई सोधपुछ गरेको छ । संस्थाले ६५ जनालाई सीमानाकामा परामर्श गरी सिधै घर फर्काएको छ । एक सय ३१ जनालाई पारिवारिक पुनः मिलन गरिएको छ । संस्थामा दर्ता गरिएका खोजतलासका ५५ निवेदनमध्ये ११ जना भेटिएका छन् । अन्यको अवस्था अज्ञात छ ।

महिलामाथि हुने घरेलु हिंसाका निवेदनसमेत संस्थामा आउने गरेका छन् । हालसम्म घरेलु हिंसाका ३४ निवेदन संस्थामा आएका छन् । त्यसमध्ये २८ निवेदन छलफल गरी हल गरिएका छन् । अधिकांश घरेलु हिंसाका घटना सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोगका कारण हुने गरेको देखिएको संयोजक भट्टको भनाइ छ ।

संस्थाको सहयोगमा अदालतमा १० वटा जबर्जस्ती करणीका मुद्दा दर्ता गरिएका छन् । यसैगरी भारतमा महिलालाई बेच्न लैजाने दलाल विरुद्ध दुई मुद्दा दर्ता गरिएका छन् । माइती नेपालले यस अवधिमा भारतमा बेचिएका दुई जनाको उद्धार गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*