राष्ट्र बैंकका गभर्नरको विश्लेषण : कोरोनाको दोस्रो लहरले अर्थतन्त्र थप जोखिममा
पहिलो लहरको कोरोनापछि विस्तारै उकालो लागेको नेपाली अर्थतन्त्र कोरोनाको दोस्रो लहरबाट थप प्रभावित हुने जोखिम देखिएको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् । केन्द्रीय बैंक स्थापनाको ६६ औं वर्ष प्रवेशका अवसरमा बोल्दै गर्भनर अधिकारीले कोरोनाको दोस्रो लहरले अर्थतन्त्र जोखिममा रहेको बताएका हुन् ।
गभर्नर अधिकारीले आफ्नो सम्वोधनमा भने, ‘कोभिड–१९ का कारण मानव जातिले विश्वभर गम्भीर स्वास्थ्य सङ्कट सामना गरिरहेको अवस्था छ । कोरोना संक्रमणको दोस्रो लहरसँगै स्वास्थ्य सङ्कट अझै गहिरिँदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जोखिम छ ।’
अघिल्लो पटकको महामारीका बेला राष्ट्र बैंकले लिएको नीतिका कारण अहिले अर्थतन्त्र उकालो लाग्न थालेको गर्भनर अधिकारीले दाबी गरेका छन् । तर, कोभिड–१९ अझै यथावत रहेकाले अर्थतन्त्रमा जोखिम कायमै रहेको उनको भनाइ छन् ।
राष्ट्र बैंकका कर्मचारीहरु माझ आफ्नो लामो भाषणमा गभर्नर अधिकारीले भने, ‘महामारीको अवधिमा पनि विभिन्न नीतिगत प्रयासहरुले गर्दा अर्थतन्त्र पुनरुत्थानको दिशातर्फ उन्मुख हुँदै गएको छ । यद्यपि कोभिड–१९ अझै हामीबीच रहेकाले जोखिम भने कायमै रहेको छ ।’
मुलुकभित्र उत्पन्न हुने आर्थिक तथा मानवीय संकटको संयमतापूर्वक उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । उचित व्यवस्थापनसँगै आर्थिक क्रियाकलाप सञ्चालन तर्फ जोड दिन उनले भनेका छन् ।
महामारीको अवधिमा पनि विभिन्न नीतिगत प्रयासहरूले अर्थतन्त्र पुनरुत्थानको दिशातर्फ उन्मुख हुँदै गएको तर कोभिड÷१९ अझै रहेकाले जोखिम भने कायमै रहेको गर्भनर अधिकारीले स्मरण गराए ।
गभर्नर अधिकारीले हालसम्म ४८ हजार ५ सय ५० जना कोरोना पीडितलाई ४२ अर्व १७ करोड पुनर्कर्जा वितरण भएको बताए । राज्यले कोरोना प्रभावित ७७ हजार १ सय ९६ जनाका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको उनले भने ।

बाइलाइन नेपाल











