रौतहटमा कोरोनाबाट एकको मृत्यु, संक्रमितको ग्राफ बढ्दै

बाइलाइन नेपाल
१४ बैशाख २०७८, मंगलवार ११:०१

कोरोना माहामारीको दोस्रो लहरमा रौतहटमा पहिलो पटक संक्रमित एकजना वृद्धको मृत्यु भएको छ । सदरमुकाम गौर नगरपालिका–२ महादेवपट्टीका ७० वर्षीय एकजना वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

तीन दिन अघि संक्रमण पुष्टि भएर घरमै रहेका तथा दमको रोगबाट समेत अवस्था गम्भीर हुँदा उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा गएराति उनको मृत्यु भएको रौतहटका प्रजिअ ईन्द्रदेव यादवले बताएका छन् ।

यसअघि जिल्ला अस्पताल गौरमा भएको एकसय ६३ वटा पीसीआर जाँचमा ९२ जना कोरोना पोजेटिभ पुष्टि भएको छ । संक्रमित मध्ये ७१ पुरुष र २१ महिला रहेकी छन् । एकजना पुरुषको दोस्रो पटकको जाँचमा निगेटिभ आएको प्रजिअ यादवले जानकारी गराएका छन् ।

संक्रमित सबै होम आईसोलेसनमा रहेका छन् । यसैबीच जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा जिल्ला अस्पताल गौरमा भेन्टिलेटर सहितको आईसोलेसन संचालनको तयारी सुरु भएको छ । जिल्ला स्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले प्रत्येक स्थानीय तहले पाँच लाख रुपैयाँको दरले जिल्ला अस्पताललाई सहयोग गर्ने निर्णय भएको छ ।

उक्त निर्णय अनुसार जिल्लाका १८ स्थानीय तह मध्ये ११ ले जम्मा गराएको रकमबाट भेन्टिलेटरसहितको आईसोलेसन सञ्चालनको तयारी भैरहेको प्रजिअ ईन्द्रदेव यादवले जानकारी दिएका छन । जिल्ला अस्पताल गौरमा ४ बेड भेन्टिलेटर, १० बेड अक्सिजनसहित २५ बेडको आईसोलेस सञ्चालन हुने उनले जानकारी दिएका छन ।

त्यसैगरी धरहरीमा १०० बेड र चन्द्रपुरमा ४० बेडको आईसोलेसन सञ्चालनको तयारीमा रहेको उनको भनाइ छ। पछिल्लो समय गौर र फतुवा विजयपुरका केही संक्रमित घरबाहिर घुमफिर गरिरहेको सूचना आएकाले त्यस्ताको निगरानी गर्न स्थानीय प्रहरीलाई निर्देशन दिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*