प्रधानमन्त्रीकाे पारा : आफै उल्लंघन, आफै असन्तुष्ट ! कार्यान्वयनमा आएन बैशाख ६ गतेको ३० बुँदे आदेश
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण आदेश’ बैशाख ६ गते ३० बुँदे आदेश जारी गर्यो । छिमेकी मुलुक भारतसँगै नेपालमा पनि नयाँ बर्षको सुरुवातमै कोरोना संक्रमण दर बृद्धि हुन थालेपछि बैशाख ६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो आदेश जारी गरेको हो ।
नयाँ आदेशअनुसार सबै सार्वजनिक सवारी सधान र हवाई यात्राका क्रममा मास्क भाइजर अनिवार्य, २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन नपाउने, सहरका विद्यालयहरु भौतिक रूपमा कक्षा संचालन गर्न नपाइने लगायतका आदेश पालना नगर्ने जो कसैलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही हुने व्यवस्था छ ।
तर, यो आदेश सरकार स्वयं, अन्य राजनीतिक दलसहित सरकारको नेतृत्व गरेको राजनीतिक दल नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओली आफैले लगातार उल्लंघन गरिरहेका छन् । यसरी आदेश उल्लंघन भइरहेपनि उल्लंघनकर्तालाई सरकार वा जिम्मेवार निकायले न त कारवाही नै गरेको छ न आदेशको कार्यन्वयन नै खरो ढंगले हुन सकेको छ ।
याे पनि
कोरोनाबारे बालुवाटारमा ब्रिफिङ : आदेश नमाने लकडाउन !
यस्ता छन् प्रधानमन्त्रीबाट आदेश उल्लंघनका लगातार श्रृङ्खला :
–बैशाख ७ :सीता, राम र हनुमानको मूर्तिपूजा बालुवाटार ।
–बैशाख ९ : पार्टी कार्यालयको शिलान्यास, बल्खु ।
–बैशाख १० : महाधिवेशन आयोजक कमिटीको बैठक २६५ भन्दा बढि ।
–बैशाख ११ : धरहरा उद्घाटन ।
याे पनि
बालुवाटारबाटै सुरु भयो स्वास्थ्य मापदण्ड उल्लङ्घन, अब केपी ओलीलाई के सजाय हुन्छ ?
– बैशाख १२ : एमाले स्थायी कमिटी र महाधिवेसन आयोजक कमिटीको बैठक, बालुवाटार ।
आदेश पालना नभएकोमा आफै असन्तुष्ट !
जो अगुवा उही बाटो ….भन्ने नेपाली उखान जस्तै मन्त्रिपरिषदले पारित गरेको आदेश कार्यन्वयन नभएको भन्दै प्रधानमन्त्री ओली आफै आक्रोशित भएका छन् । जबकि प्रधानमन्त्री ओली आफैँ आदेश पालना गर्नुको साटो मानिसहरु भेला पारेर, धार्मिक कार्यक्रमदेखि उद्घाटन, शिलान्यास र पार्टी बैठकमा व्यस्त भएका छन् ।
तर, यही मेसोमा शनिबार बालुवाटारमा सरकारी अधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले आदेश पालना नभएको भन्दै कडाइ पूर्वक पालना गर्न/गराउन मातहतका निकायहरूलाई निर्देशन दिए ।
याे पनि
मन्त्रिपरिषदको आदेश पालना नभएको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट
सरकारी आदेश राजपत्रमा समेत प्रकाशित भइसके पनि त्यसको पालना अत्यन्त न्युन मात्रै भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । आफ्नै आदेश पालना नभएपछि प्रधानमन्त्री ओलीले यसको कडाइपूर्वक पालना गराउन मातहतका निकायलाई फर्मान जारी गरेका हुन् । तर, उनले यस्तो आदेश दिएको २४ घण्टा नबित्दै बैशाख १२ बालुवाटारमै पार्टीको दुई/दुईवटा बैठक राखेर आफैले आदेश उल्लंघन गरे ।
प्रधानमन्त्री र मन्त्रीहरुमात्रै होइन, अन्य राजनीतिक दलका नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालले पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेका छैनन् ।
के छ संक्रामक रोग ऐन २०२० मा ?
संक्रामक रोग ऐन २०२० मा विशेष अधिकार व्यवस्था गर्ने व्यवस्था छ । जसमा ‘नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारवाही गर्न सक्छ र सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ’, भनिएको छ । सोही व्यवस्था अनुसार सरकारले कोरोना नियन्त्रणका लागि पछिल्लो आदेश जारी गरेको हो ।
ऐनमा आदेश उल्लंघन गर्नेलाई कडा कारवाही गर्ने व्यवस्था छ ।
‘यो ऐन वा यस ऐनअन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ’, ऐनमा भनिएको छ, ‘यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । ’

बाइलाइन नेपाल











