आजबाट मकवानपुरको १० वटै स्थानीय तहका पर्यटकीय स्थलहरु बन्द
हेटौंडा । आजबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित १० वटै स्थानीय तहका पर्यटकीय स्थलहरु बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको न्युनिकरणका लागि आजबाट बैशाख मसान्तसम्म पर्यटकीय स्थलहरु बन्द गर्न लागेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देब चन्द्र गर्तौला अनुसार जिल्ला भित्रका पार्क तथा पिकनिक स्पोटहरु बन्द गर्नको लागि प्रशासनले सम्बन्धीतलाई पत्र पठाईसकेको छ ।
यो संगै मकवानपुरको हेटौंडाको सहिद स्मारक,पुष्पलाल पार्क,गुम्बाडाँडा,१०८ धारा,भीमफेदीको त्रिखण्डी,मकवानपुरको मकवानपुरगढी दरबार क्षेत्र लगाएत जिल्लाका पर्यटकीय स्थलहरु आजबाट बन्द हुने भएका छन् ।
यसैबिच आजबाट हेटौंडामा निजि तथा सार्वजनिक सवारीहरुमा जोर विजोर प्रणाली लागू भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर अनुसार हेटौंडा उपमहानगरपालिका भित्र चल्ने निजि तथा सार्वजनिक सवारी सबैमा जोर विजोर प्रणाली लागू हुने छ ।

बाइलाइन नेपाल











