वीरेन्द्रनगरमा मात्र २४ घण्टामा एक सय १९ जनामा कोरोना पुष्टि

बाइलाइन नेपाल
११ बैशाख २०७८, शनिबार १७:२५

सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि कोरोनाको ग्राफ ह्वात्तै बढेको छ । जसको कारण कोरोनाको स्थिति भयावह हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।

जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमा ११९ जनामा कोरोना भाईरस पुष्टि भएको छ । संक्रमितमध्ये विद्यार्थी २१, कर्मचारी १९, शिक्षक १९, गृहिणी १४, बैंक र सहकारीका कर्मचारी १२, सुरक्षाकर्मी सात, कृषि, व्यवसायी र स्वास्थ्यकर्मी पाँच–पाँच जना छन् । यस्तै, भारतबाट फर्केका ५ जना, ३ जना पत्रकार, चालक दुई र राजनीतिज्ञ एक जना रहेका छन् ।

पहिलो चरणका कोरोनाबाट मान्छेहरु निकै डराएर जनस्वास्थ्यका मापदण्डहरु अपनाउने गरेपनि दोस्रो लहरमा भने खासै नागरिकहरुले स्वास्थ्यका मापदण्ड नअपनाएको प्रदेश अस्पतालमा कार्यरत कोरोना फोकल पर्सन डा. के एन पौडेल बताउँछन् । कर्णालीका अधिकांश नागरिकहरु रोजगारीको सिलसिलामा भारत जाने गरेका छन् । भारतमा कोरोनाको अबस्था जटिल बन्दै गएपछि गाउँ फर्कनेहरुका लर्को उस्तै छ । तर, चेकजाँचमा भने कडाई हुन सकिरहेको अबस्था छैन ।

अर्को कुरा सवारी साधनहरुमा पनि खासै मापदण्डहरु अपनाइएको देखिँदैन । सुर्खेतदेखि विभिन्न रुडमा चल्ने सवारी साधनले पैसा कमाउने उद्देश्यले प्रहरीलाई छलेर सिट क्षमताभन्दा धेरै मान्छे ओसारपसार गर्ने गरेको यात्रुहरुले गुनासो गर्ने गरेका छन् ।‘जहाँ बाट कोरोना संक्रमण हुन सक्छ,’ डा। पौडेल भन्छन् , ‘नागरिकहरुले केही हुँदैन भन्ने बानी पारेको बुझिन्छ । तर, यस्तो राम्रो होइन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*