खनाल–नेपाल पक्ष भन्छ– ओलीकै कारण एक वर्षमा एकपछि अर्को सङ्कट निम्तियो

बाइलाइन नेपाल
९ बैशाख २०७८, बिहीबार १४:५०

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल पक्षले एक वर्षमा केपी शर्मा ओलीकै कारण एकपछि अर्को सङ्कट निम्तिएको टिप्पणी गरेको छ । झलनाथ खनाल, माधवकुमार नेपालसहित सो पक्षका १५ नेताले बिहीबार संयुक्त अपिल जारी गर्दै साढे तीन वर्ष अगाडि एमालेले संविधान निर्माणमा नेतृत्व गरेको, झण्डै दुई तिहाइ संसदीय क्षेत्रमा वाम गठबन्धनले विजय हासिल गरेको र दुईवटा प्रमुख कम्युनिष्ट पार्टीको एकता गरेर कम्युनिष्ट आन्दोलनलाई ऐतिहासिक उचाइमा पु¥याएको उल्लेख गरेका छन् ।

‘तर गत एक वर्षमा हामीमाथि एकपछि अर्को सङ्कट आइपरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका व्यक्तिवादी तथा बिसर्जनवादी कदमहरूले आफैले निर्माण गरेको संविधानमाथि आक्रमण गरेर संसद विघटन गर्नुभयो, पार्टी एकतालाई भत्काउनु भयो र संसदको बहुमत गुमाउनु भयाे,’ अपिलमा भनिएको छ, ‘र, अदालतले न्यायिक दायरा नाघेर गरेको राजनीतिक निर्णयले एकीकृत पार्टीलाई विभाजन गरेपछि बाँकी रहेको नेकपा एमालेलाई समेत विभाजन गर्न र कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्न पार्टी अध्यक्ष स्वयं नै सुनियोजित रुपले अगाडि बढिरहनु भएको छ ।’

राजनीतिक घटना र कारणलाई हेर्दा नवौँ महाधिवेशनले नीति र नेतृत्वमा गरेका विरोधाभाषपूर्ण निर्णयको परिणामका रुपमा आज पार्टीले यो दुर्भाग्य बेहोर्दैछ भन्ने स्पष्ट रहेको उनीहरुको निष्कर्ष छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*