कोरोना संक्रमण बढेपछि दिल्लीमा ‘विकेन्ड कर्फ्यू’

बाइलाइन नेपाल
२ बैशाख २०७८, बिहीबार १४:५६

काठमाडौँ । कोरोना संक्रमण बढेपछि भारतको दिल्ली सरकारले ‘विकेन्ड कर्फ्यू’ लगाउने घोषणा गरेको छ । विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । ५ हप्तामा दिल्लीमा कोरोना संक्रमितको संख्या २५ गुणाले बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवालले यो निर्णय लिएका हुन् ।

आज पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै मुख्यमन्त्री केजरीवालले मल, जिम, स्पा तथा सभागृह तत्काललाई बन्द गर्ने निर्णय भएको बताए । नयाँ नियमअनुसार सिनेमा हल ३० प्रतिशत दर्शक राख्ने गरी खुला गरिनेछ । रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ । हरेक म्युनिसफल जोनमा हरेक दिन एउटा साप्ताहिक बजार खोल्न अनुमति दिइएको छ ।

११ मार्चदेखि १७ मार्चसम्म यहाँ २९९५ संक्रमित फेला परेका थिए । ८ अप्रिलदेखि १४ अप्रिलमा यो संख्या बढेर ७६ हजार ८७० पुगेको थियो । यो सिजन विवाहको सिजन भएकाले विवाह समारोहमा सहभागी हुनका लागि ई–पासको व्यवस्था गरिने भएको छ ।

बुधबार दिल्लीमा १७ हजार २८२ संक्रमित फेला परेका थिए । यही अवधिमा ९ हजार ९५२ जना निको भएका छन् भने १०४ जनाको मृत्यु भएको छ । अहिलेसम्म दिल्लीमा ७ लाख ६७ हजार संक्रमित बनेका छन् । यसमध्ये ७ लाख ५ हजार निको भएका छन् भने ११ हजार ५४० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*