मकवानपुरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

बाइलाइन नेपाल
२९ चैत्र २०७७, आईतवार १५:२०

हेटौंडा । मकवानपुरमा राष्ट्रपति रनिङशिल्ड ११औँ जिल्ला स्तरीय प्रतियोगिता आजबाट सुरु भएको छ । हेटौंडा–४ स्थित हुप्रचौरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिका संयोजक एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रमुख खुलालले एथलेटिक्स तर्फको सटपुट खेल खेलेर प्रतियोगिताको उद्घाटन गरेका हुन् । उनले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासमा प्रतियोगिताले सहयोग पुग्ने बताए । विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन यो प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने प्रमुख खुलालको भनाई छ ।

प्रतियोगितामा जिल्लाका १० वटै पालिकाभित्रका विद्यार्थीहरुको सहभागिता रहेको छ । छात्र÷ छात्राको भलिबल, र एथलेटिक्सका खेलहरू हुप्रचौरमा भइरहेको छ भने कबड्डीका खेलहरू हेटौंडा–४ स्थित कभर्डहलमा भइरहेको छ । जिल्लाका १० वटै स्थानीय तहबाट छनौट भएर आएकाहरूको जिल्ला स्तरीय प्रतियोगिता आजबाट सुरु भएको हो ।

खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन भएको र यो प्रतियोगिताबाट छनौट भएका खेलाडीले क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष लामाको सभाध्यक्षयतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न पालिकाका प्रमुखहरू लगायत खेलकुद क्षेत्रका पदाधिकारीसहित खेलाडी विद्यार्थीहरूको उपस्थिति रहेको थियो । प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, सितेरियो करोत, तेक्वान्दो र उसु खेलका प्रतिस्पर्धा हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*