प्रधानमन्त्रीको गृह जिल्लामा ‘वेटिङ प्राइममिनिस्टर’ जाँदै
काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोलि (सोमबार) झापा जाने भएका छन् । भोलि विहानको हवाई उडानमार्फत देउवा झापा जाने उनको सचिवालयले जनाएको छ । प्रजातान्त्रिक समाजवादका योद्धा तथा नेपाली काँग्रेसका नेता स्वर्गीय सिके प्रसाईंकी धर्म पत्नी गिरीराजकुमारी प्रसाईं (ज्ञानु मुवा)को श्रद्धाञ्जलीसभा र काँग्रेस नेता एम आचार्यको सालिक अनावरण कार्यक्रमका लागि देउवा झापा जाने भएका हुन् ।
सभापति देउवासँगै नेताहरु कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका नेताहरु पनि झापाको कार्यक्रममा सहभागी हुने बुझिएको छ । सिटौला आजै झापा प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा भावी प्रधानमन्त्रीका रुपमा हेरिएका देउवा प्रदेश एकका पार्टीका शीर्षस्थ नेतासहित दुई दिन बिताउने छन् ।
चैत ११ गते ९० वर्षको उमेरमा गिरीराजकुमारी प्रसाईंको निधन भएको थियो । उनी राजनीतिसँगै सामाजिक रूपान्तरणमा सक्रिय रहेकी थिइन् । २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा झापा साविक क्षेत्र नं २ मा वर्तमान प्रधानमन्त्री ओलीसँग १७ मतले गिरीराजकुमारी पराजित भएकी थिइन् । त्यतिबेला ४२ मतमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको भन्दै बदर गरिएको थियो ।
चुनावमा ओलीले धाँधली गरेर जितेको भन्दै प्रसाईंले पुनः मतगणनाका लागि मुद्दा दायर गरेकी थिइन् । तर मुद्दाको सुनुवाइ नै नभइ ढिसमिस भएको थियो ।

बाइलाइन नेपाल











