२०७८ सालले नेपालका कम्युनिस्टलाई सद्बुद्धि देओस्

नरनाथ पाण्डे
२२ चैत्र २०७७, आईतवार १२:४२

कुनै बेला माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपालाई हाल सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले पुरानै अवस्थामा फर्काइदिएपछि नेपालमा नयाँ राजनीतिक तरङ्ग देखापरेको छ । अब माओवादी र एमाले अलग अलग भइसकेपछि आफू आफू मिलिहाल्छन् भन्ने धेरैलाई लागेको छ । पार्टी कार्यकर्ताको चाहना पनि त्यही होस् भन्ने नै थियो ।

परिस्थिति यति परिवर्तन भयो कि एमालेभित्र पुनः चर्काचर्की देखियो र यतिबेला एमाले पनि फुटको सँघारमा आइपुगेको छ । एमालेमा देखिएको तात्तातो बहस र कारबाहीका प्रक्रिया अघि बढे पनि पार्टी फुटाइहाल्न अहिले कोही पनि सहमत देखिएका छैनन् ।

पार्टीका दुई व्यक्तिको जुँगाको लडाइँ र एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्ने परिस्थितिले गर्दा पार्टीभित्र ऐतिहासिक चर्काचर्की मात्र देखापरिरहेको अवस्था कायम छ । यो अवस्थालाई सूक्ष्म ढङ्गले नियाल्ने हो भने कसैसँग पनि वैचारिक र सैद्धान्तिक मतभेद पाइँदैन, केवल व्यक्तिगत बदलाको भाव प्रष्ट झल्किन्छ । यो समसामयिक विषयवस्तुपछि यस आलेखमा नेपालको कम्युनिस्ट आन्दोलन र अहिलेको अवस्थाबारे परिचर्चा गरिने छ ।

सरकारको हविगत

जनताले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको पार्टी नेकपाका नेताहरुका विकासप्रेमी नाराका आधारमा भोट दिएर दुई तिहाइ बहुमत पु¥याई कम्युनिस्ट सरकारलाई एक पटक परीक्षणका लागि सत्तामा पु¥याएका हुन् । तर, जनचाहनाअनुसारका कुनै पनि काम गर्न नसकेको र हालसम्म सत्तामा रहेको यो सरकारले पार्टीको आन्तरिक विवादमा रुमल्लिएरै तीन वर्ष व्यतित गरिसकेको छ । यसबाट नेपालका कम्युनिस्टहरुको बोलीचाली एकातर्फ र व्यवहार अर्कोतर्फ प्रष्ट रूपमा छरपस्ट ढङ्गले देखिएको छ ।

सर्वहारा वर्गको नेतृत्व गर्ने, राष्ट्रभक्त र जनताका सच्चा सिद्धान्त बोकेको पार्टी भनेर वर्षौंदेखि भन्दै आएको, क्रान्तिका नाममा रगतको खोलो बगाएर र भौतिक संरचना ध्वस्त पारेको घटनासमेत बिर्सिएर विकास र समृद्धिको आशामा जनताले सत्तामा पनि पुर्‍याएकै हुन् । तर, पूर्वमाओवादी र पूर्वएमाले दुवै एकीकरण भई नेकपा बनेको यो पार्टीले दुई तिहाइकै बहुमत ल्याएर पनि आफ्नो इज्जत जोगाउन सकेन ।

यो स्थायी सरकार हो र ५ वर्ष आरामले काम गर्ला भन्ने जनताको कल्पना पनि पूरा हुन नसक्ने अवस्था अहिले देखिएको छ । दुई ठूला कम्युनिस्ट पार्टी मिलेर देशलाई जुरुक्कै उचालेर विकास र समृद्धिको पाटोमा लैजालान् भनेको त देशलाई झनै डुबाउने परिस्थिति सिर्जना भएको सुन्न, देख्न र लेख्न पर्दा आफैलाई समेत लाज लागिरहेको छ ।

यस अवस्थाले गर्दा जतिसुकै दुई तिहाइ मत ल्याए पनि सरकार बनाउने र चलाउने भनेको जम्मा आधा कार्यकाल नै रहेछ भन्ने कुरा देखिएको छ । किनकि नेपालको संविधानमा कुनै पनि प्रधानमन्त्रीले एकपटक विश्वासको मत लिएपछि कम्तीमा दुई वर्षसम्म उसका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन भन्ने व्यवस्थाले अब बन्ने सबै प्रधानमन्त्री र सरकारको आयु दुई वर्ष मात्रै हुने हो कि भन्ने आशङ्का बढेको छ ।

यस्तो अवस्थामा दुई तिहाइ भए पनि, १० वटा पार्टी मिलेर सरकार बनाए पनि आखिर दुई वर्ष नै आयु हो भने अबदेखि किन एउटै पार्टीलाई बहुमत दिनुप¥यो र ? चाहना भए जति पार्टी सबै सरकारमा गए पनि त आखिर दुई वर्ष मात्रै हो ।

ऐतिहासिक उपलब्धि हासिल गरेको नेकपाको दुई तिहाइ बहुमतले पनि आखिर पूरा समयावधि सरकार चलाउन पाएन, सकेन वा चलाउन दिइएन त्यो आफ्नै ठाउँमा छ तर अवस्था त्यस्तै देखिएको छ ।

दुई पार्टी एक बनाएका दुई ठूला महत्त्वाकाङ्क्षी नेता र आफूलाई सर्वेसर्वा ठान्ने, अलिकति पनि गल्न नचाहने, जहिले पनि जुँगाको लडाइँ लड्ने बानी भएका नेताहरुको बानी सुधार हुन नसक्दा र एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्दा पनि यो अवस्था आएको हो भन्न सकिन्छ ।

पार्टी पद्धतिबाट र सामूहिक निर्णयबाट बनेको नेकपा भए पो सबै नेता कार्यकर्ता जिम्मेवार हुनेथिए । यो पार्टी त केवल दुईजना व्यक्तिको एक्ला एक्लै निर्णयले बनेको हुनाले अहिले आएर यी दुवै नेताको लडाइँका कारण नेकपा जोगिन सकेन ।

विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट

यसै पनि विश्वमा कम्युनिस्ट शासन र पद्धति लोप हुँदै गइरहेको अवस्था देखिएको छ । पुराना माक्र्सवाद, लेनिनवाद, माओवाद जस्ता सिद्धान्त तत्कालीन अवस्थाका लागि राम्रो सिद्धान्त भए पनि अहिलेसम्म उही पुरानो सिद्धान्त बोकेर हिँड्नाले र ती सिद्धान्त समय सापेक्ष रूपमा परिमार्जन गर्नु त कता–कता त्यसमा भएका कमा र ह्रस्व दीर्घसमेत परिवर्तन गर्नुहुँदैन भन्ने चिन्तन भएका कम्युनिस्टहरुका कारण विश्वमै कम्युनिस्ट पतन हुँदै गइरहेको यथार्थ हो ।

यसैबीच, नेपालमा मदन भण्डारी जस्ता दुरदर्शी नेताको जन्म भयो जसले कम्युनिस्ट पार्टीमा नयाँ सिद्धान्त जनताको बहुदलीय जनवाद प्रकाशमा ल्याए । पुराना विचार र सिद्धान्त मान्ने कम्युनिस्टहरुलाई पनि यो सिद्धान्त समय सापेक्ष ठीकै लाग्दै गयो र अहिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपालका प्रायः कम्युनिस्टहरुले यही सिद्धान्तअनुसरण गरिरहेको पाइन्छ । कम्युनिस्ट पार्टी भन्ने बित्तिकै बन्दुकको शक्तिको आडमा परम्परावादी राज्यसत्ताको हस्तक्षेप गरी जनताको जनवादी सिद्धान्त अनुरूप शासन सत्ता सञ्चालन गर्ने पार्टी हो भन्ने बुझिन्छ । यसैका प्रयोगहरु नेपालमा पटक पटक भइसकेका छन् ।

झापा विद्रोहदेखि माओवादीको जनयुद्ध र मधेसका भूमिगत सशस्त्र समूहसम्म आइपुग्दा नेपालमा हरेक खालका प्रयोगहरु भए । ती सबै प्रयोगहरुले कुनै समयमा काम लाग्ने खालका परिणाम देखाए भने कुनै समयमा असाध्यै अफाप पनि भए ।

जे होस् जनताको बहुदलीय जनवादको सिद्धान्तमा टेकेर हिँडिरहेको तत्कालीन एमालेले पुराना कम्युनिस्ट सिद्धान्तलाई समय सापेक्ष परिवर्तन गर्दै लैजानुपर्ने मान्यतालाई अघि सार्नु र पुँजीवादी कम्युनिस्टतर्फ अघि बढ्नु नै नेपाली माटोमा कम्युनिस्टप्रति जनताको आकर्षण हो । यही कारणले नै कम्युनिस्टहरु संसारबाट लोप भइरहँदा नेपालमा भने झन् उर्वर बन्दै गए ।

परिणामस्वरुप तत्कालीन माओवादीको सशस्त्र सङ्घर्षबाट सत्ता कब्जा गर्ने रणनीति पनि फेल भयो र बाध्य भएर माओवादीहरु पनि नेपालको शान्ति प्रक्रियाको मूलधारमा समाहित भएका थिए । अन्य सबैखालका दलहरुलाई परास्त गरी वैधानिक बाटो वा चुनावबाटै कम्युनिस्टको सत्ता चलाउनुपर्ने कुरामा दुई ठूला कम्युनिस्ट पार्टीहरु चुनावको मुखमा एकताबद्ध भई चुनाव लडेका थिए, जसलाई भर्खरै सर्वोच्च अदालतको फैसलाले तुहाइदियो ।

यसरी नेपालको कम्युनिस्ट आन्दोलनमा यो नयाँ किसिमको प्रयोग थियो र जनताले यसरी भारी मत दिएर सत्तामा पु¥याउँदा पनि यी कम्युनिस्टवादी दलहरु उफ्रिएर शिखर चुम्न सकेनन् बरु कुवाको कुवामै रहन पुगे । जुन कुरालाई नेपालको इतिहासमा एक कलङ्कको रूपमा लेखिने नै छ ।

सरकार र पार्टीको पतन

नेकपा यसरी सत्तामा पुगेपछि संसारभर वैधानिक तरिकाले कम्युनिस्ट सरकार नेपालमा बनेको उदाहरण हेर्ने लहर जाग्यो । नेपालको कम्युनिस्ट आन्दोलनका उतार चढाव, विभिन्न कालखण्डहरु हुँदै परिमार्जित कम्युनिस्ट सिद्धान्तको प्रयोग र वैधानिक कम्युनिस्ट सरकार साँच्चै अध्ययन गर्न लायक विषयवस्तुहरु बनेका थिए ।

पुँजीवादी व्यवस्थाको होड चलिरहेको अहिलेको अवस्थामा नेपालमा कम्युनिस्ट स्थापित भएको विषयवस्तु सबैका लागि पाच्य हुने कुरै भएन । फलस्वरूप यो सरकार टिकाउन हुँदैन भन्ने पक्षमा विश्वका प्रायः शक्तिकेन्द्रहरु नै हाम फालेर नेपालको यो स्थितिको अनुसन्धान गर्ने, छिद्रहरु खोज्ने, कुनै कमी कमजोरी पत्ता लगाई असफल बनाउने, भए नभएका कृत्रिम परिवेशहरु सिर्जना गरी आतङ्क फैलाउने, कुनै नेतागणलाई फकाउने, लोभ देखाउने र भए नभएका षड्यन्त्रहरु गर्न कम्मर कसेर लाग्न थाले ।

यिनै कारणहरुले गर्दा देशभित्र र बाहिरका दृश्य अदृश्य तत्त्वहरूको चुङ्गुलमा ओली सरकार पर्न गएको हो कि भनी आशङ्कासमेत गर्ने गरिन्छ । सरसर्ती हेर्दा बाहिरी परिवेशको, प्रतिपक्षी लगायत अन्य दलहरुको सरकारलाई अवरोध नदेखिए पनि भित्री पाटो भनेको र हामीले स्वीकार गर्नुपर्ने भनेको आफ्नै दलको आन्तरिक किचलोका कारण यस्तो भएको बुझ्न सकिन्छ ।

ओली अस्त्र र किचलो

यी अवस्थाले गर्दा आखिर ओली सरकार धरापमा परेको थियो र आफू धरापमा परेको महसुस गरी कदापि चाल्नै नहुने कदमका रूपमा ओली अस्त्र संसद् विघटनका पक्षमा जान पुग्यो । जुन कदम निकै अलोकप्रिय थियो र त्यसले समग्र संविधानमाथि नै धावा बोल्ने काम गरेको थियो, जसलाई सर्वोच्च अदालतले अवैधानिक घोषणा गरी बदर गर्दा हाल देश नै अर्को अन्योलपूर्ण राजनीतिक माहोलमा गएको अवस्था कायम छ । अहिले आएर एमाले बनिसक्दा पनि एमालेभित्र लिखित रूपमै माधव नेपाल लगायत ४ जना नेतालाई निलम्बन गर्ने र पार्टीको शक्ति अध्यक्षले लिने काम भइरहेका छन् भने अर्कातर्फ अर्को पक्षले तल्लो तहसम्म नै समानान्तर कमिटी गठन गरी यही पार्टीभित्रै रहेर सङ्घर्ष गर्ने नीति लिएको छ, जुन दुनियाँ हँसाउने खालका खेल मात्र हुन् भनी विश्लेषण गर्ने विश्लेषकहरु दाबी गर्छन् ।

नेताहरुको दादागिरी र स्वेच्छाचारिताले पार्टीलाई त डुबायो नै, यसका कारण अप्रत्यक्ष रूपमा देशलाई नै अघि बढ्नबाट अवरोध खडा भइरहेको कुरा एमालेले किन बुझ्न सकेन ?

सदियौँदेखिको नेपालको संसदीय अभ्यासमा हालसम्म सबैको ध्यान प्रधानमन्त्री को बन्ने र सरकार कसले चलाउने भन्नेमा मात्रै केन्द्रित रहेको पाइन्छ जुन अवस्था अबका केही दिनभित्रै पुनरावृत्ति हुनेगरी छर्लङ्ग देखिँदैछ ।

अन्त्यमा,

जिम्मेवार पार्टी र देश हाँकिसकेका शीर्ष नेताहरुको हविगतका कारण जनतामा नैराश्यता बढेको र बढ्दो भ्रष्टाचारबाट सबै वाक्क–दिक्क भइसकेका छन् । जुन गणतन्त्रवादी, समाजवादीदेखि लिएर सुखी र समृद्ध नेपाल बनाउने नारा ल्याउनेहरुका लागि, नेपाललाई स्वीटजरल्यान्ड बनाउने चुनावी मसला बाँड्नेहरुका लागि लाजको मर्नु हुनुपर्ने हो ।

यसले जनताको चाहनामा कुठाराघात मात्रै गर्दैन, कि भाइभाइको लडाइले जग हँसाइसमेत गराएको छ । यसका साथै साँच्चै कम्युनिस्ट पार्टीप्रति आस्था राख्ने तमाम कार्यकर्ता र शुभेच्छुकप्रति त यो लाजको विषयसमेत भएको छ ।

जे होस्, अब देशलाई अहिलेको अन्यौलपूर्ण परिस्थितिबाट हटाई मुक्ति दिलाउने कुरामा सबैको प्रयास होस्, सद्बुद्धि पलाओस् र देशका सबै पार्टीहरु नयाँ उमङ्गका साथ आऊन् र यो आउँदै गरेको नयाँ वर्ष २०७८ सालले पूरा गर्न सकोस् सबैलाई शुभकामना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*