लाइसेन्सको ट्रायल परीक्षाको नीतिमा परिवर्तन ल्याउँदै यातायात विभाग, अब ७० अंक ल्याए पास

बाइलाइन नेपाल
१९ चैत्र २०७७, बिहीबार १७:१०

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा व्यापक परिवर्तन आउने भएको छ । यातायात व्यवस्था विभागले हालको निर्देशिकालाई परिमार्जन गर्दै आगामी जेठ १ गतेदेखि ट्रायलसम्बन्धी नयाँ नीति ल्याउने भएको हो ।

विभागका अनुसार हालको ट्रायल परीक्षाको नीतिलाई परिमार्जन गर्दै अंक भारको आधारमा ट्रायल परीक्षा सञ्चालन गरिने छ । जसमा लिखित परीक्षा जस्तै ट्रायल परीक्षामा पनि प्रत्येक कण्डिसनमा अंक प्रदान गरिने र सोही अंकको आधारमा परीक्षार्थी पास वा फेल निर्धारण गरिने विभागका प्रवक्ता डा.लोकनाथ भुसालले रातोपाटीलाई बताए ।

‘आगामी जेठ १ गतेदेखि यातायात व्यवस्था विभागले लाइसेन्स परीक्षाको ट्रायलमा आमुल परिवर्तन ल्याउँदैछ । जुन अहिलेसम्मकै ठूलो सुधार हो,’ भुसालले भने, ‘यसले हालको ट्रायल परीक्षा देखिएको तमाम समस्या समाधान गर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।’

भुसालका अनुसार अब बन्ने निर्देशिकाले ट्रायल परीक्षाको सम्पूर्ण पक्षलाई समेटेर १०० पूर्णाङ्क निर्धारण गर्नेछ । त्यसमा ७० अंक ल्याउने पास हुनेछन् । नकि पहिले जस्तो लाइट, सिट बेल्टको निउँमा परीक्षार्थी फेल हुनेछन् ।
त्यसो त यस्तो नीति कार्यान्वयनका लागि विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ग्रीन सिग्नल पाइसकेको छ । अर्थात् निर्देशिका परिमार्जनका लागि मन्त्रालयले स्वीकृति दिइसकेको छ ।

‘नयाँ निर्देशिका कार्यान्वयनको सबै प्रक्रियाहरु पूरा भइसकेका छन् । अब हामी जेठ १ को पखाईमा छौं’ प्रवक्ता भुसालले भने, ‘यसले हाल परीक्षामा सामेल भएका परिक्षार्थीहरु मध्ये २०–३० प्रतिशत मात्र पास हुने परिपाटीको अन्त्य हुनेछ । यद्यपी कमजोर परीक्षार्थीलाई सडकमा ल्याउने हाम्रो योजना होइन । तर सामान्य गल्तीमा पनि लाइसेन्स पाउनबाट बञ्चित गर्ने र सडकमा विना लाइसेन्सका चालकहरू बढाउने कार्यको अन्त्य भने अवश्य गर्न लागेका हौं,’ भुसालले भने ।

त्यसो त यस्तो नीति अन्तर्राष्ट्रिय बजार र प्रयोगलाई समेत हेर, अध्ययन गरेर ल्याइएको प्रवक्ता भुसालको भनाइ छ । विश्वका विकसित मानिएका अमेरिका, जापान र छिमेकी मुलुक भारत र चीनलाई समेत अध्ययन गरेर यस्तो नीति ल्याएको उनले बताए ।

६ लाख ७० हजार नयाँ लाइसेन्सको माग पेन्डिङमा
प्रवक्ता भुसालका अनुसार हाल कुल ६ लाख ७० हजार नयाँ लाइसेन्सको माग पेन्डिङमा रहेको छ । कोभिड–१९ पछि पहिलो पटक पुस १४ गतेदेखि खुलेको लाइसेन्स परीक्षामा बुधबार बेलुका ४ बजेसम्म कुल ६ लाख ७० हजार परीक्षार्थीहरूले लाइसेन्सका लागि आवेदन दिएका छन् । अहिले यातायात कार्यालयहरूले यस्तो लोडलाई क्रमशः कम गर्दै लगेको भुसालको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*