वायु प्रदूषणले नागरिक स्वास्थ्यमा पारेको असरप्रति आयोगको चासो

बाइलाइन नेपाल
१९ चैत्र २०७७, बिहीबार १४:००

शुक्रबारदेखि काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा बढिरहेको वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा परेको असरप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ ।
यस सम्बन्धमा आयोगले नियमित रुपमा सञ्चार माध्यमको अनुगमन गर्नुका साथै सरोकारवालासँग छलफल गरेको जनाएको छ । पछिल्लो समयमा नेपालका २७ सय ठाउँमा आगलागी तथा डढेलो लागेको, वायु प्रदूषणका कारण आँखा पोल्ने, खोकी लाग्ने, नाक चिलाउने समस्या अत्याधिक रुपमा देखिएको सञ्चार अनुगमनबाट पाइएको आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुख्खा याम, अत्यधिक डढेलो तथा पश्चिमी वायु कमजोर भएका कारण केही दिन यता देखिएको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा अत्यन्तै खराब अवस्थामा रहेकोले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने वातावरण विज्ञहरुले छलफलको क्रममा बताएको पनि आयोगले जनाएको छ । सो क्रममा वायु गुणस्तर मापन सूचक (एक्युआइ) अनुसार गत आइतबार काठमाडौँमा मापन गरिएको वायुको गुणस्तर ३ सय भन्दा बढी पुगेको देखिएकोले जेष्ठ नागरिक, बालबालिका, दम, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोगीहरुमा अत्यन्तै जोखिम हुने हुनाले सचेत रहनुपर्ने विज्ञहरुले ध्यानाकर्षण गराएका छन् ।

वायु प्रदूषणबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न, हालै देखिएको अत्याधिक डढेलोलाई नियन्त्रण गर्न, घर तथा कृषि कार्यबाट निस्किने फोहोर जलाउने कार्यमा नियन्त्रण गर्न तथा सवारी साधनको प्रयोगलाई सम्भव भएसम्म कम गरी हालै देखिएको वायु प्रदूषणको अवस्थामा तत्काल सुधार ल्याउनुपर्ने विज्ञले औंल्याएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*