युवालाई कोरिया जाने वातावरण मिलाउन सांसद् संग्रौलाको माग

बाइलाइन नेपाल
१८ चैत्र २०७७, बुधबार १६:४४

काठमाडौं । नेपाली काँग्रेसकी सांसद डा डिला संग्रौलाले इपिएस अन्तर्गत वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान अनुमति पाएर पनि गएको १३ महिना देखि पर्खी रहेका झन्डै १० हजार नेपाली युवाहरुलाई चांडो भन्दा चांडो काममा जाने वातावरण बनाउन नेपाल सरकारसंग माग गरेकी छिन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद संग्रौलाले हजारौं युवाहरुको लगानी र समय खेर गइरहेकाले तत्काल कूटनीतिक माध्यमबाट कोरिया सरकारसंग वार्ता गरेर उनीहरुलाई कोरिया जाने वातावरण तयार गर्न सरकारसंग माग गरिन् ।

उनले विश्वव्यापी कोरोना महामारीका कारण लाखौं नेपाली श्रमिकहरुले विदेशमा रोजगारी गुमाएको, दशौँ हजार नेपाली युवा स्वदेश फर्केको तर उनीहरुको पुनर्स्थापना तथा रोजगारीका लागि सरकारले कुनै पहल न गरेको बताइन् ।
नेपाली कांग्रेसले गठन गरेको छायाँ मन्त्रिपरिषदमा श्रम तथा रोजगार मामिला हेर्ने सांसद संग्रौलाले यस अघि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई छुट्टा छुट्टै भेटी अलपत्र परेका नेपाली युवाहरुको समस्याबारे अवगत गराएकी थिइन् ।

उनले सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर श्रम गन्तव्यमा जान नपाएका युवाहरुको विषयमा मन्त्रीद्वयको ध्यानाकर्षण गराउँदै नेपाली युवाहरुलाई जतिसक्दो चाँडो कोरिया पठाउन माग गरेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*