ओलीमाथि खनाल–नेपाल पक्षको टिप्पणी : सत्ता, शक्ति र स्रोतको उन्मादले ओली ग्रसित

बाइलाइन नेपाल
१७ चैत्र २०७७, मंगलवार १६:५०

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल पक्षले पार्टीका चार नेतालाई स्पष्टिकरण सोधिनु अध्यक्ष केपी शर्मा ओलीको दुराशयको हिस्साका रुपमा लिएको छ । सो पक्षका नेताहरुको मंगलबार बसेको बैठकले अध्यक्ष ओली वाह्य शक्तिसँग साँठगाँठका आधारमा देश, जनता र कम्युनिस्ट पार्टीलाई कमजोर तुल्याउने काममा संलग्न रहेको निष्कर्ष निकालेको हो ।

बैठकपछि जारी विज्ञप्तिका अनुसार नवौं महाधिवेशनबाट निर्वाचित माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई अनेक झुठा आरोप लगाउँदै सत्ता, शक्ति र स्रोतको उन्मादले ग्रसित ओलीद्वारा ‘कथित’ स्पष्टिकरण सोधिएको उल्लेख छ ।

‘अझ अघि बढेर उहाँबाट यही चैत १६ गते वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल र उपाध्यक्ष कमरेड भीम रावललाई विभिन्न झुठा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टीको विधान विपरीत स्वेच्छाचारी कार्य भएको छ,’ विज्ञप्तिमा भनिएको छ, यस्तो कार्य पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा एमालेलाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो ।’

झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेको नामबाट जारी संयुक्त विज्ञप्तिमा ओली पद र शक्तिमा पुगेपछि निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पु¥याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पु¥याउने विभिन्न काम भएको आरोप लगाइएको छ ।

नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बनेका ओलीले राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै एमाले विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*