माओवादी केन्द्र मकवानपुरले स्थानीय तह र संगठनको भेला गर्ने
हेटौंडा । सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को विघटन गरेपछि नेकपा(माओवादी केन्द्र) मकवापुरको पहिलोपटक बैठक बसेको छ । बैठकले पार्टीको मकवानपुरको १० वटै स्थानीय तह कमिटीको बैठकहरू चैत १९ गतेदेखी २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
जसअनुसार हेटौंडा उपमहानगरपालिकाको चैत १९ गते, राक्सिराङ गाउँपालिकाको चैत २० गते, बकैया गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका र मनहरी गाउँपालिकाको चैत २१ गते, मकवानपुरगढी गाउँपालिकाको चैत २३ गते, बागमती गाउँपालिकाको चैत २४ गते, भीमफेदी गाउँपालिकाको चैत २५ गते, कैलाश गाउँपालिकाको चैत २६ गते र थाहा नगरपालिकाको चैत २८ गते हुने भएको छ ।
त्यस्तै, जिल्लाको सबै वडाको बैठक बसी माओवादी पार्टीको बोर्डसहित कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको जिल्ला नेता तथा प्रचार विभाग प्रमुख कमानसिं पाख्रिनले बताए । उनका अनुसार पार्टीबाट निर्बाचित स्थानीय र प्रदेश जनप्रतिनिधिको भेला चैत २८ गते तोकिएको छ ।
साथै, पार्टीको जनबर्गीय मोर्चाहरूको चैत मसान्तसम्म बैठक बसी बैशाख मसान्तसम्ममा भेला, सम्मेलनहरू गर्ने निर्णय पनि भएको बताईएको छ । पार्टीलाई सुदृढ, क्रान्तिकारी, बलियो बनाउँदै समाजवादी लक्ष्य हाँसिल गर्न पार्टी केन्द्रको सर्कुलर अनुसार जिल्ला कमिटीले निर्णय गरेको हो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमति प्रदेश अध्यक्ष नारायण दाहालको प्रमुख अतिथ्य तथा केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज कुमारी मोक्तानको बिशेष आतिथ्य रहेको थियो । पार्टीका मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामीको अध्यक्षमा भएको बैठकमा प्रदेश कमिटी सदस्यहरु बिष्णु बिष्ट, ओम घलान, सर्केश घलान, बिरबहादुर घलान, ललित घलान लगायतको सहभागिता रहेको थियो ।

बाइलाइन नेपाल











