पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि पुरुषतर्फ तीर्थ र महिलातर्फ एपीएफकी फूलमती प्रथम
पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि पुरुषतर्फ तिर्थ पुन र महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफ क्लबकी फूलमती रानाले जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार सम्पन्न भएको उक्त दौड अन्तर्गत पुरुषतर्फ भारतीय सेनामा कार्यरत तीर्थ पुनले ३३ मिनेट ३३.०८ सेकेण्डमा दौड पुरा गर्दै उपाधि सहित नगद १५ हजार, मेडल र प्रमाणपत्र हात पारेका छन् ।
त्यसैगरी पुरुषतर्फ नै नेपाली सेनाका जितेन्द्र दनुवार दोश्रो भएका छन । उनले उक्त दौड ३४ मिनेट ०७.०३ सेकेण्डमा दुरी पुरा गर्दै नगद १० हजार हात पारे भने काठमाडौैका शिव बहादुर रायमाझीले ३४ मिनेट २२.०५ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भएका छन । उनले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
महिलातर्फको दौडको उपाधि शसस्त्र प्रहरीकी फूलमती रानाले ८३ जना प्रतिष्पर्धीलाई उछिन्दै उपाधि हात पारेकी हुन् । उनले उक्त दौड ४० मिनेट ५२.०२ सेकेण्डमा पुरा गर्दै नगद १५ हजारका साथमा मेडल तथा प्रमाण पत्र प्राप्त गर्न सफल भइन् ।
उक्त दौडतर्फ धरानकी छेन्वी राईले ४२ मिनेट ०१.०६ सेकेण्डमा दुरी पार गर्दै दोश्रो भइन् । उनले नगद १० हजार हात पारेकी छन भने एपिएफकी आशा रावतले ४३ मिनेट ५२.०३ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भइन । उनले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् ।
विजेता खेलाडीहरुलाई पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेका उपाध्यक्ष करम गुरुङ, मञ्चका अध्यक्ष एवम गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिब तेज गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, लगायतले मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यस अघि पोखरा रंगशालाबाट शुरु भएको दौडको शुभारम्भ पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिसीले गरेका गरेका थिए ।
सो अवसरका राष्ट्रिय खेलकूद परिषदका सदस्य राजेश कुमार गुरुङ लगायत अन्य विशिष्ट महानुभावको सहभागिता रहेको थियो ।
दौडमा सहभागी ७४ वर्षिय टंक बहादुर श्रेष्ठलाई हौसलाको कदर गर्दै हौसलाका लागि महानगरका प्रमुख जिशीले नगद १० हजार प्रदान गर्ने घोषणा गरे ।
१५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत भएको उक्त दौड नगरको विभिन्न भाग परिक्रमा गर्दै मानवअधिकार चोकमा पुगेर सम्पन्न भएको थियो ।
प्रतियोगितामा ३०० जना दौड पुरा गर्ने धावकहरुलाई उनीहरुले दौड पुरा गरेको क्रम संख्याको आधारमा मेडल प्रदान गरिएको थियो । प्रतियोगितामा विभिन्न १७ जिल्लाका पुरुषतर्फ ४ सय ३९ र महिलातर्फ ८३ जना धावकले सहभागिता जनाएका थिए ।
पोखरा म्याराथन अन्तर्गत आगामी वैशाख ४ गते ५ किमी छात्र–छात्रा दौड हुने भएको मञ्चले जनाएको छ ।

बाइलाइन नेपाल











