संसदलाई जीवन्त बनाउन चुनौती थपियोः सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् । शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौती थपेको बताएका हुन् । तर पनि ठूलाठूला बहसपछि संसदले गति लिन थालेको बताउँदै अव जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाए ।
गत पुस ५ गते देखि फागुन ११ गते सम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको पनि बताए । निकै उतारचढाव र महान बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र यो बीचमा समुन्द्र मन्थन भई संसदले पुनः गति लिएको उनले बताए । तर अझैपनि बहस नसकिएको सभामुख सापकोटाको भनाइ छ ।
उनले भने, ‘अहिले हामी एउटा महान बहसको प्रक्रियाबाट गुज्रिएर यहाँसम्म आइपुगेका छौं । पहिला पहिला भनिने गथ्र्यो समुद्र मन्थन, त्यस्तै गरी हामीले एउटा समुद्र मन्थन जस्तै गरी धेरै ठूलो बहस ग¥यौं । त्यो बहसको बीचबाट फेरि नेपालीहरुले पहलकदमी लिए र सफलता पनि हासिल गर्दैछन् । तर सफलता र फेरी त्यसपछि यी समस्याहरु अगाडि जाँदै गर्छन तपाई अन्तिम संश्लेषण सनमा विचार गर्नुहुन्छ भने पुग्नुहुन्छ भने फेरि यसले गति नै लिएको छ । यसले सही निष्कर्ष तिर नै पु¥याउँछ । हाम्रो बहस जारी छ ।’
संसदमा जनअपेक्षा अनुसार काम नभएको स्वीकार पनि सभामुख सापकोटाले गरे । उनले भने, ‘अहिले अलिकति अपेक्षाकृत ढङ्गले संसदले सिङ्गो राष्ट्रको, जनताको अपेक्षा पुरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैनकि भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाव भित्र, बाहिर, यहाँ सबैतिरबाट तपाईहरुले उठाउनुभएको छ त्यसलाई म उच्च सम्मान गर्छु ।’ तरपनि राष्ट्रियताको सवालमा संसदले अद्भुत एकता प्रदर्शित गरेको र ठूला ठूला समस्याहरूको समाधान गरेको पनि बताए ।
संसद् बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने पनि सभामुख सापकोटाले प्रष्ट पारे । अहिले केही अन्योलता देखिएपनि निराश हुन पर्ने स्थिति नरहेको उनले बताए । ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै यसको रक्षाका लागि अझै एक सय वर्ष लडन तयार हुनुपर्ने पनि सभामुख सापकोटाले बताए ।
उनले भने, ‘हामीले धेरै चिन्तित हुनुपर्ने, निरास हुनुपर्ने कुरा छैन । किनभने समस्याहरु आउँछन् । निकै ठूलाठूला समस्या पनि आउँछन् चुनौतीपनि आउँछन् । यो बहस, वादविवाद संवाद हुँदै फेरी अन्तिम निष्कर्षमा ठिक हुन्छ । फरकै छैन । मुख्य कुरा बहस हो । बहस भयो कि भएन ? बहस भएको छ । एकदम विहङ्गम बहस भएको छ । महान बहस भएको छ । भ्रमहरु फैलिएका छन भनेपनि हामी धेरै चिन्तित हुनुपर्दैन । भयानक भ्रमहरुबाट महान सत्यको जन्म हुन्छ । त्यसकारण हामीले ७० वर्ष संघर्ष गरेर ल्याएको लोकतन्त्र हामीले भनिरहेका छौं अहिले हामीलाई कता कता त्यो लोकतन्त्र विकास विस्तार र सुदृढ भएन भन्ने जस्तो लागिरहेको छ । हामी किन राष्ट्रको जीवनमा त्यति साँघुरो ढङ्गले सोच्छौँ । ७० वर्ष होइन अर्को सय वर्ष पनि लडन पर्ने हुनसक्छ । अर्को सय वर्षपनि संघर्ष गर्नुपर्ने हुनसक्छ । त्यसकारण हामीले राष्ट्रको जीवनलाई हाम्रो व्यक्तिको जीवनसित जोडेर समय सिद्धिन लाग्यो धेरै भयो भनेर हामीले नसोचौँ । चिन्तित हुनुपर्ने कुरा छैन । जे हुँदैछ ठिकठिक हुँदैछ ।’

बाइलाइन नेपाल











