पाण्डे र भुषालले अझै दिएनन् स्पष्टीकरणको जवाफ

बाइलाइन नेपाल
१३ चैत्र २०७७, शुक्रबार १२:१२

काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले चार नेताहरुलाई सोधेको स्पष्टीकरणको जवाफ दुईजना नेताले अझै दिएका छैनन् । तीन दिनभित्र स्पष्टिकरण बुझाउन भनिए पनि दुई नेताले सो म्याद सकिँदा समेत जवाफ पठाएका छैनन् ।

वरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावलले बिहीबार नै स्पष्टीकरणप्रति प्रतिप्रश्न गर्दै लिखित जवाफ बुझाइसकेका छन् । तर सुरेन्द्र पाण्डे र घनश्याम भुषालले भने त्यसको जवाफ शुक्रबार बिहानसम्म पनि नदिएको एमाले केन्द्रीय कार्यलयका सचिव ईश्वरी रिजालले बताए ।

यो पनि
माधव पक्षका सांसद आज बालुवाटार जाँदै

‘माधव नेपाल र भीम रावलले ‘कन्फ्लिक्ट लेटर’ बुझाउनुभएको छ तर घनश्याम भुषाल र सुरेन्द्र पाण्डेले अझै बुझाइसक्नु भएको छैन,’ कार्यालय सचिव रिजालले रातोपाटीसँग भने ।

नेता भुषालले जवाफ दिने तयारी भएपनि आज दिउँसो आफ्नो पक्षको केन्द्रीय समिति र अपरान्ह दलको बैठक भएकाले अझै समय लाग्ने बताए । ‘आज पनि सकिएला जस्तो छैन । किनभने, पार्टीकै दुईवटा कार्यक्रम छन् । यो सकेपछि भोली वा पर्सी बुझाउने गरी तयार हुँदैछ’, भुषालले भने, ‘एकदुई दिन समय लाग्ला जस्तो छ ।’ त्यस्तै अर्का नेता पाण्डेले पनि आफू र भुषालसँगै स्पष्टीकरणको जवाफ दिने बताए ।

यो पनि
माधव पक्षले अध्यक्ष ओलीसँग केन्द्रीय समिति बैठक बोलाउन माग गर्ने

यसअघि गत साता बालुवाटारमा बसेको नेकपा एमालेको ओली पक्षीय केन्द्रीय समिति बैठकले पार्टी अनुशासन उल्लंघन तथा गुटबन्दी गरेको भन्दै नेता नेपालसहित रावल, पाण्डे र भुषाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले चारै जना नेताहरुलाई फरकफरक पत्र पठाउँदै स्पष्टिकरण सोधेका थिए । स्पष्टिकरण सोधिएका नेताहरुले चित्तबुझ्दो जवाफ नदिए कारवाही गर्ने ओली पक्षको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*