अब लकडाउन हुँदैन : अर्थमन्त्री पौडेल

बाइलाइन नेपाल
१२ चैत्र २०७७, बिहीबार १६:०३

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन् । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अबस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताएका हुन् । बिहीबार कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताएका हुन् ।

उनले भने, ‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ, त्यसबाट हामी जोगिनु पर्नेछ । अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ । त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौँ । अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन ।’

अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए । सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि शुरु भइसकेको बताए । कोभिड पछिको आर्थिक पुनरउत्थान, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रीत भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताए । उनले भने, ‘हामी बजेटको तयारीमा जुटेका छौं । सिद्धान्त र प्राथमिकताको तयारी करिब अन्तिम चरणमा आइपुगेको छ । सँगसँगै हामी बजेटको तयारीमा पनि जुटि नै रहेका छौं । समग्रतामा पछि बताउँला, उपयुक्त समयमा चर्चा गरौंला । मुख्य गरिकन हामी कोभिड पछिको आर्थिक पुनरउत्थान, रोजगारी सिर्जना जस्ता विषयहरुमा बढ्ता केन्द्रीत हुन्छौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*