महोत्तरीको पिपरामा गाडिएको अवस्थामा मानव कंकाल फेला बेपत्ता झा दम्पतीकै शव रहेको परिवारको निष्कर्ष
जनकपुर । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर २ स्थित अत्तरा जाने बाटोमा थुपारिएको माटोभित्र बिहीबार मानव कंकाल फेला परेको छ । होलीका लागि घर पोत्न माटो लिन गएका स्थानीयवासीले माटोले पुरेको अवस्थामा बोराभित्र मानव कंकाल फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले माटो पन्छाएर खोजतलास गर्दा दुईवटा बोरामा मानव कंकाल फेला परेको हो । बोराभित्र राखेर माटोमा पुरिएको अवस्थामा फेला परेको कंकालमा कपडा र थोरै कपाल समेत रहेको स्थानीयवासी सुशिल झाले जानकारी दिए ।
यो पनि
झा दम्पती बेपत्ता प्रकरण : अभियुक्त सार्वजनिक, दम्पतीको अवस्था अझै अज्ञात
कंकाल भेटिएपछि प्रहरीले केही समयअघि बेपत्ता भएका महोत्तरीकै सोहडवा गाउँका ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीय उनकी पत्नी गीतादेवी झाको परिवारलाई घटनास्थलमा बोलाएर कंकाल र कपडा देखाएपछि उनीहरुले ती कंकाल झा दम्पतीकै रहेको ठहर गरेको प्रहरीले जनाएको छ ।
हत्या गरेर दुईवटा बोरामा माटोमूनि पुरिएको अवस्थामा दुईवटा शवको कंकाल बरामद भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । दुवै शवको हड्डीमात्र बाँकी रहेकाले पहिचानमा कठिनाइ भए पनि शवसँगै फेला परेको कपडाको आधारमा परिवारजनले दुवै शवको पहिचान गरेको उनले बताए । प्रहरी उपरिक्षक आचार्यले भने, ‘अपहरण गरिएको राति झा दम्पतीले लगाएकै कपडा उक्त बोराभित्रबाट बरामद भएका आधारमा उनीहरुको परिवारजनले शवको पहिचान गरेको हो ।’
यो पनि
२३ दिनदेखि बेपत्ता झा दम्पतीबारे सीआइबीले थाल्यो अनुसन्धान
झा दम्पती आफ्नै घरमा सुतेको अवस्थामा गत फागुन १० गते राति बेपत्ता भएका थिए । झा दम्पती बेपत्ता भएपछि अनुसन्धानमा जुटेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४ जना आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

बाइलाइन नेपाल











