भागरथी हत्या प्रकरण : मृतकको भजाइनल स्वाबको डीएनए आरोपितसँग मिल्यो
काठमाडौँ – बैतडीकी किशोरी भागरथी भट्टको हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको ‘भजाइनल स्वाब’ बाट निकालिएको डीएनएसँग मेल खाएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा डीएनए मिलेको पाइएको हो ।
भागरथीको हत्या आरोपित दिनेशलाई अहिले पुर्पक्षका लागि बाल सुधार गृहमा राखिएको छ । आरोपित दिनेशको डीएनए र भागरथीको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीषक मुकेश कुमार सिंहले विधि विज्ञान प्रयोगशालामा आरोपित दिनेशको डीएनए र भागरथीको भजाइनल स्वाब पठाइएको आज मात्रै रिपोर्ट आएको पुष्टी गरे । उनले भने, ‘दिनेश नै दोषी हुन् भन्ने आधार प्रहरीसंग प्रसस्त थियो । डीएनए पनि मेल खाएपछि मुद्दा झनै बलियो भएको छ ।’
यसअघि दिनेशले पुर्पक्षमा रहेको अवस्थामा बयान फेरेका थिए । जिल्ला अदालत बैतडीको आदेशपछि डोटीको दीपायलस्थित सुधार गृहमा रहेका दिनेशले भागरथीको हत्यामा आफ्नो संग्लनता नरहेको र हत्यामा संग्लन व्यक्तिलाई आफूले देखेको भन्दै बयान दिएका थिए ।
त्यसअघि, भने दिनेशले आफूले हत्या स्वीकार गरेको भन्दै प्रहरीले फागुन ४ गते उनलाई सार्वजनिक गरेको थियो । सरकारी वलिकको कार्यालय बैतडीमा बुवा दिपकराज भट्टकै अगाडि उनले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेका थिए । सनातन धर्म मावि खोचलेकबाट माघ २१ गते घर फर्किने बेला हराएकी भागरथीको २२ गते शव भेटिएको थियो । पोष्टमार्टमपछि भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

बाइलाइन नेपाल











