पुरातत्वलाई महानगरपालिकाको ताकेता : हनुमानढोका दरबारक्षेत्रका अनधिकृत व्यापार व्यवसाय हटाऊ
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर हनुमानढोका दरबार क्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन पुरातत्व विभागलाई ताकेता गरेको छ । ‘विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँका चार सम्पदा काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अवस्थित छन’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘ती सम्पदा क्षेत्रहरुको संरक्षण, मर्मत, जीर्णोद्धार, तथा सम्बर्द्धन गरी प्राचीनता जोगाउनु काठमाडौँ महानगरपालिको दायित्व हो । त्यसैले हामीले पुरातत्व विभागलाई पटक–पटक त्यहाँका अनधिकृत प्रयोजन हटाउन ताकेता गरेका छौँ । तर, विभागले ढिलासुस्ती गरिरहेको छ । हामीले ताकेता गरिरहेका छौँ ।’
उनले वारुणयन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरहरू चलेका भन्दै छिटो हटाउन आग्रह गरेको बताए । ‘ऐतिहासिक, पुरातात्विक तथा साँस्कृतिक महत्वको त्यो क्षेत्र पहिला परम्परागत र बटुवामैत्री थियो । बटुवाहरू त्यहि सतलमा आराम गर्ने गर्थे,’ शाक्यले भने ‘त्यस्तो पुरातात्विक ठाउँको महत्वलाई जोगाउनुपर्छ भनेर महानगरपालिकाले पुरातत्वलाई व्यापारिक प्रयोजन हटाइदिन आग्रह गरेको हो ।’
तलेजु मन्दिरको आसपास मक्खनतिर पनि बाटो नै ढाकेर व्यापार–व्यवसाय सञ्चालन भएको भन्दै खालि गराउन भनिएको छ । ‘हामीलाई जानकारी भएअनुसार पुरातत्वले ती स्थान भाडामा लगाई व्यापारिक प्रयोजनमा प्रयोग गरिरहेको छ । त्यस्तो ऐतिहासिक ठाउँमा मौलिकता कायम गर्दै र बटुवामैत्री हुने गरी अघि बढ्न उहाँहरुलाई पटक–पटक हामीले मौखिक रुपमा आग्रह गर्यौं’ शाक्यले भने, ‘मौखिक रुपमा धेरैपटक भन्दा चासो नदेखाएपछि महानगरपालिकाले लिखित रुपमा उहाँहरुलाई पत्राचार गरेको छ ।’
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले यहि माघ १४ गते अनधिकृत प्रयोजन हटाइदिन आग्रह गर्दै पुरातत्वलाई पत्र पठाएको जानकारी गराए । ‘वसन्तपुर हनुमानढोका दरबार क्षेत्रको वारुणयन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा प्रयोग भएकोप्रति ध्यानाकर्षण भएको छ’ उनले भने, ‘अनधिकृत व्यापार–व्यवसाय हटाई त्यहाँको ऐतिहासिक, पुरातात्विक तथा साँस्कृतिक महत्वलाई कामय राख्न ताकेता गर्दै पुनः चैत ५ गते प्रथम ताकेता पत्र पठाई पुरातत्वलाई स्मरण गराएका छौँ । उहाँहरु सकारात्मक रुपमा अघि बढ्नुहोला भन्ने अपेक्षा गरेका छौँ ।’
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले त्यो क्षेत्र पुरातत्वको क्षेत्राधिकारभित्र रहेको दिए । महानगरपालिकाको पत्र प्राप्त भएपछि प्रधानमन्त्री कार्यालय र पर्यटन सचिवलाई समेत जानकारी गराएको गौतमले जनाए ।

बाइलाइन नेपाल











