सयौँ विद्यार्थी थला परेपछि विद्यालय बन्द

बाइलाइन नेपाल
११ चैत्र २०७७, बुधबार १२:५४

दूल्लु । नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन्। बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ। ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए।

उनका अनुसार आइतबार करीब १ सय५०, सोमबार करीब १सय जना र मङ्गलबार ८५ जना विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको हो। विद्यार्थी बिरामीले ग्रसित भएको खबर जल्ला अस्पताल दैलेखमा पुगेपछि डा विवेक गुरुङको टोली त्यहाँ पुगेको जिल्ला अस्पतालका सूचना अधिकृत धीरराज रेग्मीले बताए।

विद्यार्थीलाई आरामको आवश्यकता भएको र औषधिले काम गर्ने समय लाग्ने भएकाले विद्यालय बन्द गरिएको रेग्मीले जानकारी दिए। बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिनुभएका डा.गुरुङले जानकारी दिए। यो अन्य कुनै महामारी नभई भाइरल ज्वरो भएको जनाइएको छ।

हाल सबै बिरामीलाई औषधि दिइएको र आराम गर्न सुझाव दिइएको जनाउँदै डा गुरुङले विस्तारै औषधिले काम गर्ने हुँदा धेरै आत्तिनु नपर्ने बताए। सयौंँ विद्यार्थी दुई दिनदेखि बिरामी पर्दा निकै चिन्तित भएको स्थानीयवासी यामराज कटुवालले बताए। विद्यार्थी मात्र नभई नारायण – ५ छातीकोटका धेरैजसो घरमा बिरामी परेको जनाइएको छ। टोलमा धेरै बिरामी परेको खबर पाएपछि अहिले स्थानीय स्वास्थ्यचौकीमा बिरामीको भीड लाग्ने गरेको छ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*